काठमाडौँ। चीनबाट एमबीबीएस गरेको र टिचिङ अस्पतालमा काम गर्ने गरेको भन्दै नक्कली कागजात बोकेर उपचार गर्दै आएका एक नक्कली डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै विराटनगर–२ घर भई हाल काठमाडौँ बाँसबारी बस्दै आएका ४० वर्षीय सम्बुद्ध भट्टचार्यलाई सार्वजनिक गरेको हो।
उनले नेपाल मेडिकल काउन्सिलको नक्कली प्रमाणपत्र बनाएर डा. एस भट्टचार्यको नामबाट ठगिरहेको प्रहरी जनाएको छ। कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार भट्टचार्यले विगत नौं महिनादेखि नक्सालस्थित वी केयर पोलिक्लिनिक ६३० जना बिरामीको जाँच तथा उपचार गरिसकेका छन्।
त्यस्तै धौलागिरी हिमाल पोलिक्लिनिकमा ३० जना बिरामीको चेकजाँच गरेको अनुसन्धानबाट खुलेको रेग्मीले बताए। प्रहरीका अनुसार उनले विदेश जाने कामदारका लागि समेत नक्कली मेडिकल रिपोर्ट बनाउने गरेका थिए। प्रहरीले उनीमाथि इलाजसम्बन्धी र लिखतसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी गरेको छ।(नेपाल न्यूज बैंक)
प्रतिक्रिया