दुई हजुरआमाको कथा ‘नो विन्टर होलिडेज’ तेस्रो सातामा

काठमाडौँ। विदेशमा प्रशंसा बटुलेर नेपालमा प्रर्दशन भैरहेको ढोरपाटनका हजुरआमाहरूको कथा ‘नो विन्टर होलिडेज’ शुक्रबारबाट प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ।

जाडो याम शुरू भएपछि ढोरपाटन गाउँका बासिन्दा बेंसी झर्छन्। रतिमा विक र कालिमा विक भने गाउँमै बस्छन्। त्यहाँ फसफस हिउँ पर्छ। चिसो बढ्दै जान्छ। तैपनि उनीहरू गाउँको रखबारी गर्छन्। एकै श्रीमान्का यी दुई श्रीमतीबीचमा एउटा बाहेक कुनै समानता हुँदैन। उमेरको समानमा भएपनि उनिहरुले जिवनलाई हेर्ने र जिउने दुष्टिकोण वृत्तचित्रमा फरक छ।

उनीहरुको व्यक्तित्व र उनीहरुबाट प्रायः बुढेसकाललाई दुःखपीडा भोग्ने वयका रूपमा हेर्ने सामाजिक दृष्टिकोण परिवर्तन गराउने हेतु यस वृत्तचित्रले त्यो भाष्य बदल्छ, र फरक ढंगले बुढ्यौलीलाई देखाउँछ।

साल्पा फिल्म्सले निर्माण गरेको वृत्तचित्र ‘ढोरपाटन’ ले आजबाट प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ। अङ्ग्रेजी नाम ‘नो विन्टर होलिडेज’ रहेको वृत्तचित्र गत पौष २७ गतेदेखि राजधानीको सुनधारास्थित सिडीसी मलमा प्रदर्शन भएको थियो।

फिल्मकर्मीसँगै दर्शकको उल्लेख्य उपस्थिति भएपछि वृत्तचित्रका निर्माता, वितरक, र प्रदर्शकहरूले यसको नियमित प्रदर्शनलाई निरन्तरता दिने निर्णय लिएका हुन्।

“शुरुमा त हामीलाई यस वृत्तचित्रको दर्शक को हुन सक्लान भन्ने प्रश्न थियो र त्यसै अनुसार यसको प्रचार गर्यौ,” निर्माता राजन कठेतले भने, “तर अहिले हामीलाई दर्शकले ‘यो त छुटाउनै नहुने रहेछ, त्यसैले हेर्न आएको’ भन्ने किसिमको प्रतिक्रिया दिनुभयो र उत्साहित भई यसलाई हलमा निरन्तरता दिने निर्णय गर्यौ।”

२०७५ फागुनदेखि निर्माण शुरु भएको वृत्तचित्रको विश्व प्रिमियर बेलायतको शेफिल्ड डकफेष्टमा गत असारमा भएको थियो। त्यसपछि एसियन प्रिमियर गत भदौमा दक्षिण कोरियाको डिएमजी डक्समा भएको थियो।

तिहारअघि भारतको हिमाचल प्रदेशको धरमशालामा आयोजित ‘धरमशाला अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा पनि ‘ढोरपाटन’ देखाइएको थियो। त्यस्तै कलकत्ताको कोलकाता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा यसले प्रशंसा बटुलेको थियो।

वृत्तचित्र गत मंसिरमा काजाकस्तानमा आयोजित ‘प्रथम अल्टरनेटिभा फिल्म अवार्ड’ मा ‘नेटिभा’ श्रेणीमा पुरस्कृत भएको थियो भने ‘नेपाल अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्र महोत्सवÚमा ‘सर्वोत्कृष्ट वृत्तचित्र’ घोषित भएको थियो।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया