शितलहर र बाक्लो हुस्सुका कारण तराईको जनजीवन कष्टकर

काठमाडौँ। आज काठमाडौं उपत्यकासहित देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले तराईका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु लाग्नुका साथै शितलहर परेको छ। झन्डै एक महिनालदेखि लाग्दै आएको बाक्लो हुस्सु र पश्चिम तराईमा परेको शितलहरका कारण तराइको जनजीवन कष्ठकर बनेको छ।

मौसम पूर्वानुमान महाशाखाको अनुसार तराईमा अझै केही दिन बाक्लो हुस्सु हट्ने छैन। यता देशभर चिसो बढ्ने क्रम रोकिएको छैन। उपत्यकामा पनि चिसो बढ्दो छ। आज (आइतबार बिहान साढे ६ बजे) काठमाडौँको न्युनतम तापक्रम १ दशमलब ७ डिग्री सेल्सियस मापन भएको छ। आज उपत्यकाको तापक्रम शनिबारको तुलनामा घटेको हो।

महाशाखाको अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया