हात्ती प्रभावित क्षेत्रमा ‘हात्ती कोरिडोर’ बनाउन अध्ययन गरिँदै

विराटनगर। प्रदेश सरकारले हात्ती प्रभावित क्षेत्रमा ‘हात्ती कोरिडोर’ बनाउने भएको छ। यसका लागि प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले अध्ययन गर्ने भएको छ।

हात्तीको जैविक मार्गको विस्तृत अध्ययन गरी त्यस क्षेत्रको ‘स्याटेलाइट म्यापिङ’ गरी हात्ती करिडोर निर्माण गर्न यस्तो प्रयास गर्न लागिएको हो।

चालु वर्षको बजेट कार्यान्वयन मार्गदर्शन जारी गर्दै मन्त्रालयले हात्ती–मानव द्वन्द्व न्यूनीकरण गर्न हात्ती करिडोरको अध्ययन गरी त्यसको सिमाना पहिचान गर्ने र व्यवस्थापनका लागि रणनीति तर्जुमा गर्ने जनाइएको छ।

झापाको जलथल क्षेत्रमा पर्ने जंगलमा दर्जनभन्दा बढी रैथाने हात्ती रहेको साथै भारततिरबाट प्रवेश गर्ने हात्तीहरुले झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा क्षति पुर्याउने गरेका छन्।

हात्तीको आक्रमणबाट यी तीन जिल्लामा सर्वसाधारणको ज्यान जाने गरेका घटना पनि बढिरहेका छन्। एक महिनायता तीन जिल्लामा हात्तीको आक्रमणबाट सात जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

हात्ती गाउँ पसेर अन्नबाली खाने, नष्ट गरिदिने साथै घरमा समेत क्षति पुर्याउने क्रम नरोकिएपछि कतिपय गाउँमा स्थानीय बासिन्दाले हात्ती धपाउन गस्ती गर्ने गरेका छन्।

केही साताअघि हात्ती प्रभावित क्षेत्रमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसहितको टोलीले अनुगमन गरेको थियो। त्यस क्रममा मुख्यमन्त्री कार्कीले हात्ती–मानव द्वन्द्व न्यूनीकरणका लागि हात्ती करिडोर बनाउनुपर्ने बताएका थिए। टोलीले हात्ती प्रभावित क्षेत्रको निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दासँग छलफलसमेत गरेको थियो।

मुख्यमन्त्री कार्कीले हात्तीबाट हुने गरेको क्षति घटाउन हात्ती करिडोर निर्माणदेखि जंगलमै जनावर रोक्न उनीहरुको खाद्यान्न आपूर्ति हुने बोट बिरुवा लगाउने सरकारको तयारी भएको बताएका थिए। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया