काठमाडौँ। न्यूरोड क्षेत्रमा सडकमा पार्किङ निषेध गरेको काठमाडौँ महानगरपालिकाले विकल्पमा २२०० मोटर साइकल र चार पाङ्ग्रे सवारी साधनको पार्किङ गर्ने ठाउँ उपलब्ध गराएको दाबी गरेको छ।
व्यवसायीले विकल्प दिनुपर्ने भनिरहेका बेला महानगरपालिकाले यस्तो दाबी गरेको हो। महानगरले २ हजार २ सय वटा २ पाङ्ग्रे र ७ सय वटा ४ पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने स्थान निःशुल्क उपलब्ध गराएको जनाएको छ। यो संख्या साविक न्यूरोडको कालोपत्रे सडकमा गरिने सवारी पार्किङ्को संख्याभन्दा धेरै हो।
अहिले धरहराको पार्किङ भवनमा उपलब्ध गराएको स्थानमा मात्र पनि १ हजार ५ सय २ पाङ्ग्रे सवारी साधन अट्न सक्छन्। महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने, “यससँगै काठमाडौँ टावर (साविक पुरानो बसपार्क) मा ७ सय वटा २ पाङ्ग्रे र ३ सय वटा ४ पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने स्थान उपलब्ध गराइएको छ। यो निःशुल्क पार्किङ् सेवा हो। यसबाहेक नयाँ सडकमा पार्किङ प्रयोजन देखाएर निर्माण भएका धेरै व्यापारिक भवनहरु छन्। ताम्राकार कम्प्लेक्स, आरबी कम्प्लेक्स, रञ्जना कम्प्लेक्स, पशुपति प्लाजा, विशाल बजारलगायत भवनको भूमिगत तलामा पार्किङ गर्न सकिन्छ।”
उनले महानगरपालिकाले पार्किङका लागि विकल्प नै नदिएको आरोप सत्य नभएको बताए। महानगरका सडक सुरक्षा विज्ञ प्रशान्त खरेलका अनुसार न्युरोडको कालोपत्रे सडकमा १ हजार ३ सय वटा २ पाङ्ग्रे र ३० वटा ४ पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न सकिन्थ्यो। जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको कालोपत्रे सडकमा ३ सयवटा २ पाङ्ग्रे र ५ वटा ४ पाङ्ग्रेक, प्युखामा १५० वटा २ पाङ्ग्रे र ६ वटा ४ पाङ्ग्रे, खिचापोखरीमा १५० वटा २ पाङ्ग्रे र १५ वटा ४ पाङ्ग्रे, वीर अस्पताल महावौद्धमा १५० वटा २ पाङ्ग्रे सवारी पार्किङ गर्ने क्षमता थियो। त्यसैअनुरुप पार्किङ हुने गरेको थियो।
“महानगरपालिकाले अहिले उपलब्ध गराएको स्थानमा मात्र पार्किङ गर्दा पनि नयाँ सडकको कालोपत्रे सडकलाई सहज आवागमनका लागि प्रयोग गर्न सकिन्छ । सडक किनारामा पैदल यात्रीले सहजतापूर्वक हिँड्न पाउँछन्,” खरेल भन्छन्। (नेपाल न्यूज बैंक)
प्रतिक्रिया