काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रण विधेयक पास भएर देशभित्रै छपाई गर्न सकिए देशको ठूलो हिस्सा राजश्व बाहिर जानबाट रोक्न सकिने बताएकी छिन्।
बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री शर्माले राष्ट्रिय सुरक्षाको हिसाबले महत्वपूर्ण रहेको सुरक्षण मुद्रणसम्बन्धी विधेयकलाई पास गर्नुपर्ने बताइन्।
उनले भनिन्, “सुरक्षण मुद्रण देशभित्रै गर्नुपर्छ, सुरक्षण मुद्रण जस्तो महत्वपूर्ण विषयमा काम गर्दै आएको सुरक्षण मुद्रण केन्द्र खारेजी नयाँ कानुन आएपछि होला। सबैकुरा कानुन अनुसार अगाडि बढ्छ। सुरक्षण मुद्रणका कामहरु महत्वपूर्ण कामहरु पनि हुन्। यसलाई देशभित्रै छपाई गर्न थाल्यौं भने देशको ठूलो हिस्सा राजश्व बाहिर जानबाट बच्छ। यसअन्तर्गत नागरिकताको प्रमाण पत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, भिसा, स्टिकर, हुलाक टिकट, सवारी चालक अनुमति पत्र, जग्गा धनी प्रमाण पत्रलगायत सरकारले राजपत्रमा मुद्रणसम्बन्धी तोकेर यो विधेयक अगाडी बढाएको छ। विधेयकलाई पारित गर्दा उपयुक्त हुन्छ, प्रक्रियागत रुपमा अगाडि बढाऔं।”
मुद्रण सुरक्षण सम्बन्धी विधेयक राष्ट्रिय सभा र प्रतिनिधि सभामा धेरै पटक संशोधन गरिसकेकाले थप धेरै मेहेनत गर्नुनपर्ने उनको भनाई थियो। त्यस्तै, समितिका सभापति भानुभक्त जोशीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति छनौट प्रकियामा देखिएको विवादका सन्दर्भमा शिक्षामन्त्री र मन्त्रालयका सचिवहरुसँग आउँदो माघ २२ गते बैठक बसेर ध्यानाकर्षण गराउने बताए।
सभापति जोशीले सरकारी कार्यालयका वेभसाइटहरु ह्याक हुने विषयमा समेत सम्बन्धित निकायहरुलाई छलफलका लागि बोलाउने बताए। उनले त्रिभुवन विश्वविद्यालय, प्रधानमन्त्रीको कार्यालय तथा सञ्चार मन्त्रालयललाई निर्देशनका विषयमा छलफलका लागि बोलाएर आवश्यक निर्देशन दिनुपर्ने बताए। (नेपाल न्यूज बैंक)
प्रतिक्रिया