बन्धकहरुलाई रिहा गर्न सहमत छैन हमास

काठमाडौँ। इजरायल–हमास युद्धका क्रममा बन्धक बनाइएकाहरूको रिहाईका लागि हमासले सहमति जनाएको छैन। बन्धकहरूको रिहाइका लागि वार्ता चलिरहेको छ। वार्तामा कतार, इजिप्ट र अमेरिका समेत संलग्न छन्।

हालै वार्तामा संलग्न कतारले हमासले बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा सहमत भएको घोषणा गरेको थियो। तर लेबनानी मिडिया हाउसले भने हमासले अहिलेसम्म सम्झौताको विषयमा कुनै टिप्पणी नगरेको जनाएको छ।

प्यालेस्टाइनी श्रोतलाई उदृत गरिएअनुसार हमासले अहिले कुनै सहमति दिएको छैन। इजरायली सञ्चारमाध्यमले पनि लेबनानी सञ्चारमाध्यमबाट यो खबर सार्वजनिक गरेका छन्।

लेबनानी सञ्चारमाध्यमका अनुसार कतारको बयान हतारमा र गलत तरिकाले दिइएको थियो। हालसम्म हमासको नेतृत्वले सम्झौताबारे कुनै निर्णय गरेको छैन।

लेबनानी मिडिया रिपोर्टहरूले दाबी गरेका छन् कि इजरायली मिडियाले जानाजानी सम्झौतालाई अन्तिम रूप दिने कुरा फैलाएको छ ताकि सरकारलाई दबाब दिइरहेका बन्धकहरूको परिवारलाई शान्त राख्न सकियोस्।

तर त्यसबारे हमासले कुनै स्वीकार गरेको छैन। कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले भर्खरै एक विज्ञप्ति जारी गर्दै उक्त सम्झौतालाई इजरायलले अनुमोदन गरिसकेको बताएका छन्। हमासबाट समेत प्रारम्भिक सकारात्मक प्रतिक्रिया रहेको उनको दाबी थियो।

हमासले भने इजरायलले समाचार चुहावट गरेको आरोप लगाएको छ। “सबै तयारी पूरा भएपछि हामी सम्झौताको जवाफ दिनेछौँ, तर अहिलेसम्म हामीले केही टुंग्याउन सकेका छैनौँ न त कुनै सहमति नै भएको छ,” हमासलाई उदृत गर्दै समाचार संस्थाहरूले भनेका छन्।यसअघि नोभेम्बरमा इजरायल र हमासबीच युद्धबिराम हुँदा हमासले १०५ बन्धकलाई रिहा गरेको थियो। जसमा ८१ इजरायली, २३ थाई नागरिक र एक फिलिपिनो थिए। १३० जनाभन्दा बढी मानिसहरू अझै पनि हमासको कब्जामा रहेका छन्। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया