लागूपदार्थ र प्रतिबन्धित औषधिसहित ८ जना पक्राउ

विराटनगर। लागूपदार्थ र प्रतिबन्धित औषधि कारोबारमा सक्रिय आठजना व्यक्तिलाई प्रहरीले कोशी प्रदेशका तीन जिल्लाबाट पक्राउ गरेको छ।

झापा, मोरङ र उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रहरीले बिहीबार साँझ लागूऔषध ब्राउनसुगर, निषेधित औषधि र गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरी चौकी डाइनियाबाट खटिएको टोलीले मोरङको सुनवर्षी नगरपालिका–६ मा प्र–१–०२–००३ ह १२१२ नम्बरको अटोलाई जाँच गर्ने क्रममा गाँजा फेला पारेको थियो।

अटोमा सवार मोरङको रतुवामाई नगरपालिका–१० का ५० वर्षीय महेन्द्र साह र ५० वर्षीया निरिसादेवी साहलाई पक्राउ गरेको हो। चालक ४५ वर्षीय लीलबहादुर कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

यसैगरी, लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले तेह्रथुमको छथर गाउँपालिका–५ की ४६ वर्षीया नर्बदा लिम्बुलाई विराटनगर–१५ बाट ११३ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ।

यस्तै, उदयपुरको कटारी नगरपालिका–३ मा बा ४४ प ७८२७ नम्बर मोटरसाइकलमा सवार स्थानीय २७ वर्षीय करण लिम्बु र १९ वर्षीय विशाल तामाङलाई विभिन्न नामका लागूऔषधिसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

उता, भपापाको बिर्तामोड नगरपालिका–३ का २२ वर्षीय कृष्णकुमार थापा र २३ वर्षीय अजय राजवंशीलाई १ ग्राम १७० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको छ। पक्राउ परेकाहरुमाथि थप अनुसन्धान सुरु गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया