म ज्यूँदै छु : पुनम पाण्डे

काठमाडौं : दक्षिण भारतीय अभिनेत्री पुनम पाण्डेको निधनको शुक्रबार एकाएक खबर सार्वजनिक भएको थियो । 

पाण्डेकै अफिसियल इन्स्टाग्राम अकाउन्टबाट सेयर गरिएको पोष्टमार्फत उनको पाठेघरको क्यान्सरका कारण ३२ वर्षको उमेरमा निधन भएको दाबी गरिएको थियो । 

उनको आफ्नै इन्स्टाग्राममार्फत पुनमका म्यानेजरले मृत्युको खबर पोस्ट गरेको खबर बाहिरिएको छ । तर, अभिनेत्री पुनम पाण्डेको निधन नभएको उनी आफैले शनिबार जानकारी दिएकी छिन् । 

उनले आफैंले शनिबार इन्स्टाग्राममा भिडियो सेयर गर्दै आफू जीवित रहेको जानकारी दिएकी हुन् । आफ्नो मृत्युको नक्कल गर्ने अभिनेत्रीले आफूलाई क्यान्सर पनि नभएको तर पाठेघरको मुखको क्यान्सरविरुद्ध जनचेतना फैलाउन यो सबै गरेको खुलासा गरेकी छन् ।

मृत्युको खबर झुटो सावित भएपछि अहिले फेरि उनले चर्को आलोचनाको सामना गर्नुपरेको छ । यो भद्दा मजाकको लागि प्रयोगकर्ता र स्टारहरूले उनको आलोचना गरिरहेका छन् । 

पाण्डेले इन्स्टाग्राममा भिडियो सेयर गर्दै भनेकी छिन्,‘म तपाईहरू सबैसँग एउटा महत्त्वपूर्ण कुरा साझा गर्न बाध्य छु । म यहाँ छु, जीवित छु । पाठेघरको मुखको क्यान्सरले मलाई लगेन, तर दुःखको कुरा रोगसँग कसरी लड्ने भन्ने ज्ञानको अभावमा यसले जन्मेका हजारौं महिलाको ज्यान लिएको छ । केही अन्य क्यान्सरहरू भन्दा फरक भएकाले पाठेघरको क्यान्सर पूर्ण रूपमा रोक्न सकिन्छ ।’
 

प्रतिक्रिया