स्याउ उत्पादनमा कमी, सरकारी अनुदानले कृषकलाई राहत

मुगु। हिमाली जिल्ला मुगुको स्याउ उत्पादन पकेट क्षेत्र मनिने छाँयानाथ रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँपालिका भित्रका किसानको स्याउ उत्पादनमा ह्रास आएको छ। स्याउ उत्पादनमा कमी आएपनि सरकारले कृषकलाई दिएको अनुदान र बीमा रकम पाएपछि कृषक हर्षित बनेका छन्। 

समयमै वर्षा नभएको, वर्षा हुँदा पनि आवश्यकता भन्दाबढी असिना र पानी परेकाले यो वर्ष स्याउ उत्पादनमा ४० प्रतिशत गिरावट आएको कृषकहरुको भनाई छ। उक्त पालिकामा कम्तीमा ३० बोटदेखि तीनसय बोट स्याउ लगाउनेसम्मका किसान छन्। स्याउ उत्पादनमा क्षति भएपनि किसानले बीमा गरे बापतको रकम भुक्तानी पाएपछि राहत महशुस भएको बताउँछन्। 

पछिल्लो समय स्याउ उत्पादन गर्नेदेखि अन्य कृषकमा समेत बीमा प्रति आकर्षण बढ्दै गएको स्थानीय बताउँछन्। स्याउ फल्ने फूल्ने समयमै छाँयानाथ रारा नगरपालिका भित्रका ताल्च, कालापाल्त, पिना, बाम, तुम, शोभा, रोवा, घट्टलेख, छैला, चिमालगायतका विभिन्न क्षेत्रका किसानले स्याउको बीमा गराइसकेका थिए। बीमा गराउनेमा उक्त क्षेत्रका ५ सय ४७ जना कृषकहरु रहेको तथ्यांक छ। 

छाँयानाथ रारा नगरपालिका ६ का गोबिन्द बमले १ सय ६० बोट स्याउको बीमा समयमै गराएको बताए। स्याउ उत्पादन नभएपनि बीमा बापत रकम पाएपछि उनी खुसी लागेको बताउँछन्। गरिब किसानलाई सरकारको अनुदान र बीमाले फाइदा पुगेको धारणा रारा नगरपालिका १० का रामकृष्ण सेजुवालको छ। 

यस्तै, पाँच हजार बर्ग क्षेत्रफल भित्र दुई सय भन्दा बढी स्याउको बिरुवा लगाएर स्याउ खेती गर्दै आएका छाँयानाथ रारा नगरपालिका ४ का जयलक्ष्मी भामले लगाएको बगानमा उत्पादन नभएको बताए। असिना पानी र बेमौसमी वर्षात्ले स्याउ उत्पादन निकै घटेको बताएका उनले गत वर्षको चौततिर ८ हजार ५ सय तिरेर १ सय ६० बोट स्याउको बीमा गराएकाले उत्पादन नभए पनि राहत पाए। उनले बीमा बापत ४० हजार ४ सय रुपैयाँ बीमा कम्पनीबाट लिएको सुनाउँछन्। समयमै बीमा गर्दा उत्पादन नभएपनि किसानलाई बीमाले निकै राहत दिएकोले यो वर्ष पनि आफू बीमा गर्ने तयारी गरिरहेको उनी बताउँछन्। 

उनले भने, “हामी किसानका लागि स्याउ बीमा धेरै राम्रो रहेछ। गत वर्ष आठ हजार पाँच सय तिरेर बीमा गराएको थिए। तर उत्पादन शून्य नै भयो। केही आम्दानी गर्न सकेनौँ। बीमाले राहत भयो। यो वर्ष पनि बीमा गराउने तयारीमा छु।”

मुगुको स्याउ उत्पादनमा पकेट क्षेत्र मानिने छाँयानाथ रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँपालका भित्रका विभिन्न क्षेत्रका कृषकले शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेडको मुगु शाखामा स्याउको बीमा गराउँदै आएका छन्। 

गतवर्षको बेमौसमी वर्षत्ले कसैको बोटमा स्याउको दानै फल्न सकेन भने स्याउ फलेकाहरुको पनि ४० प्रतिशत उत्पादनमा गिरावट देखिएको शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेड मुगुका शाखा प्रमुख लोकेन्द्र भण्डारी बताउँछन्। 

भण्डारीका अनुसार सोही आधारमा मुगुका ५ सय ४७ जना कृषकहरुले लगाएका ९० हजार भन्दा बढी स्याउका बोटको बीमा गराएबापत बिमीतलाई १ करोड ८० लाख भन्दा बढी रकम भुक्तानी गरिसकिएको छ।

“रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँपालिका गरी हामीले ९० हजार बोटको स्याउ खेती बीमा कृषकले गरेका थिए। यो वर्ष उत्पादनमा भएको ४० प्रतिशत क्षतिको आधारमा हामीले कूल एक करोड ८० लाखको हाराहारीमा किसानलाई भुक्तानी गरिराखेका छौं,” प्रमुख भण्डारीले भने। स्याउ खेती बीमा अन्र्तगत सरकारले किसानलाई ८० प्रतिशत अनुदान दिँदै आएको छ। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया