डा.शेखरलाई कार्यकर्ताको दबाब: अब माओवादी बोकेर हिंड्न सकिदैन्

काठमाडौँ। ‘समुदायमा कांग्रेस’ अभियानका लागि झापा पुगेका नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालासामु विभिन्न तहका कार्यकर्ताहरुले गुनासो र आक्रोश पोखेका छन्।

सोमबार बिहान दमकमा भएको अन्तरक्रियामा धारणा राख्ने अधिकांशले गठबन्धनका कारण कांग्रेसको मौलिकता र सिद्धान्त हराएको, नेतृत्वमा नैतिकताको खडेरी परेको, पार्टी बिचार शून्य भएको भन्दै अब माओवादी बोकेर हिंड्न नसक्ने चेतावनी दिए।

“हाम्रै साथी मार्नेसँग कसरी सँगै हिंड्ने ? कांग्रेसका साथीहरू काट्दा रगत लत्पतिएको हातसँग कसरी हात मिलाउने ?”,एक सहभागीले आक्रोशित मुद्रामा प्रश्न गरिन्।

सहभागीहरुले एकै व्यक्ति धेरै समय नेतृत्वमा रहँदा पार्टीका गतिविधि चुस्त नभएको, सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले पार्टीको घोषणापत्र अनुसार काम नगरेको जस्ता गुनासाहरु राखेका थिए। भ्रष्टाचारी, माफियासँग टाढै बस्न समेत उनीहरुले नेताहरुलाई सुझाव दिए।

सबैको कुरा सुनेर जवाफ दिने क्रममा नेता कोइरालाले गठबन्धनका बारेमा उठेका सवालमा पार्टी भित्र छलफल हुने र अवका कुनैपनि निर्वाचनमा कसैसँग गठबन्धन नहुने ठोकुवा गरे। डा.कोइराला उक्त अभियानका क्रममा कोशी प्रदेशका जिल्लाहरुको भ्रमणमा छन्। (नेपाल न्यूज बैंक) 

प्रतिक्रिया