काठमाडौँ। बागमती प्रदेशले गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्नका लागि ७० प्रतिशत बजेट बेहोर्ने निर्णय गरेको छ।
भरतपुर महानगरकी मेयर रेणु दाहालको सचिवालयका अनुसार मंगलबार बसेको बागमती प्रदेशको मनि्त्रपरिषद बैठकले धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेर अलपत्र छोडेको रंगशाला निर्माण सम्पन्न गर्न प्रदेश सरकारले ७० प्रतिशत बजेट बेहोर्ने निर्णय गरेको हो।
निर्माणको प्रथम चरणका लागि ७५ करोड रुपेयाँ बराबर लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले बेहोर्ने र त्यसको स्रोत सुनिश्चित गर्ने जनाइएको छ। धुर्मुस–सुन्तली फाउण्डेसनले १९ करोड रुपैयाँ ऋण लागेको भन्दै दुई वर्षअघि निर्माणको काम छाडेको थियो।
यसअघि संघीय सरकारले बागमतीप्रदेश सरकारसँगको साझेदारीमा रंगशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएसँगै संयुक्त लगानीमा बन्ने निश्चित भएको थियो। (नेपाल न्यूज बैंक)
प्रतिक्रिया