प्रदर्शन गर्न माइतीघरको विकल्प खोई ?

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल एमालेका सांसद रघुजी पन्तले सरकारले जनतालाई विरोध र प्रदर्शन गर्नका लागि ठाउँ दिनुपर्ने माग गरेका छन्। सरकारले माइतीघर मण्डलमा प्रदर्शनमा लगाएको रोकलाई लक्ष्य गर्दै उनले विकल्प माग गरेका हुन्।

बुधबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद पन्तले नेपाल लोकतान्त्रिक मुलुक भएकाले सरकारले जनताको आवाज बोल्ने ठाउँको व्यवस्था गर्नुपर्ने बताए।

उनले भने, “हामीले गृहमन्त्रीलाई सोध्नुपर्ने हुन्छ, किन उहाँहरुले जनताको आवाज बोल्ने ठाउँहरु खुम्च्याउँदै लग्नु भएको छ ? माइतीघर उपयुक्त ठाउँ भएन भने त्यसको विकल्पमा ठाउँ दिनुप¥यो नि। आधारभूत कुराहरु जस्तै घाम र पानीबाट बच्न सक्ने व्यवस्थासहित सरकारले जनताले बोल्ने ठाउँ दिनुपर्छ।” 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सहमतिमा डाकिएको संसदले अधिवेशनको दोस्रो बैठकमा आकर्षण गुमाएको पन्तको भनाइ छ। प्रतिपक्षी दलका नेताले बोल्दा प्रधानमन्त्री सदनमा उपस्थित हुनुपर्ने भन्दै उनले उपस्थित नहुँदा प्रतिपक्षी दलका नेताहरु नबोलेको बताए। 

उनले भने, “संसदको नेता वास्तवमा प्रधानमन्त्री हो। किनभने उसले बहुमत कमाण्ड गरेको हुन्छ। स्वयम् प्रधानमन्त्रीसँग सरसल्लाह गरि डाकिएको अधिवेशनको दोस्रो दिनमै संसदले आफ्नो आकर्षण गुमाएको छ। किन गुमायो भन्दाखेरि सदनको नेता प्रधानमन्त्री नै उपस्थित हुनु भएन।”

लोकतन्त्रमा संसदलाई प्रधानमन्त्रीले उपेक्षा गरेको यो ज्वलन्त उदाहरण भएको उनको भनाइ थियो। (नेपाल न्यूज बैंक) 

प्रतिक्रिया