विराटनगर। पहिचानवादी र कोशी प्रदेश सरकारका प्रतिनिधिबीच आज दोस्रो दिनको वार्ता सुरु भएको छ। हिजो बसेको वार्तामा दुवै पक्षले आफ्ना कुरा राखेका थिए। बिहीबार आज फेरि बस्ने गरी बैठक सकिएको थियो। पहिलो दिनको बैठक सकारात्मक रहेको भन्दै दुवै पक्षले आज फेरि वार्ता बस्ने सहमति गरेका थिए।
कोशी प्रदेश सरकारले प्रदेश नामकरणमा असन्तुष्ट पहिचान पक्षधर समूहसँग वार्ता गर्न भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगु संयोजक तथा पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य सचिव रहनेगरी समिति बनाएको थियो।
वार्तामा उक्त सरकारी टोली सहभागी छ। आन्दोलनरत पक्षको तर्फबाट केन्द्र सिंह थेगिम, गोविन्दबहादुर आङबुहाङ, युवराज राई, कुमार लिङ्देन मिराक, पदम लिम्बू, अर्जुन जमेली राई, जेन्टल लावती, पदम जबेगू र चन्द्रकुमार चौधरीलगायत सहभागी छन्।
प्रदेशसभाले २०७९ फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखेको थियो। त्यसको विरोध गर्दै पहिचानका आधारमा नामकरण गरिनुपर्ने मागसहित पहिचानवादीहरुले आन्दोलन गर्दै आएका छन्।(नेपाल न्यूज बैंक)
प्रतिक्रिया