मुगु। हिमाली जिल्ला मुगुमा सडक संजाल विस्तार भएसँगै उत्पादित स्याउको माग बढ्दो छ। स्याउको माग बढेपछि कृषकहरु खेतीप्रति आकर्षित छन्। यतिबेला भने कृषकलाई बिरुवाको काँटछाँट गर्ने चटारोमा छन्।
माघ–फागुन महिना स्याउका बिरुवा काँटछाँट गर्ने उपयुक्त समय हो। यतिबेला काँटछाँट गरिएको स्याउको उत्पादन राम्रो हुन्छ। त्यसैले कृषकहरु स्याउ बगैचामा बिरुवा काटछाँटका व्यस्त भएका हुन्।
फाल्गुन महिनाको दोस्रो सातापछि स्याउका बिरुवामा पालुवा र कोपिला पलाउनु अगाबै स्याउका बोटमा निस्किएका बाल्ला हाँगा ,अनावश्यक हाँगा काट्नुपर्ने भएकोले पकेट क्षेत्र मानिएको ताल्चा, पिना, कालापाल्त, मैथु, पाथरखोला, तुम, घट्टलेख, शोभा, रोवा, बाम, सोरुकोट, खमाले लमेरा, सेरीजामका कृषकहरुको व्यस्तता बढेको हो। बगैचामा स्याउका बिरुवा काटछाँट, निलोतुथो, चुना लगाउन उनीहरु सक्रिय छन्।
“कोदो, जौ, गहुँ, तरकारी खेतीले बालबच्चा र घर चलाउन समस्या भयो। पछिल्लो समयमा सडक सन्जाल जोडिएपछि स्याउको माग बढ्न थाल्यो। त्यसैले पुरानो काम छाडेर स्याउ खेती शुरु गरेका हौँ। अहिले घरखर्च र छोराहरुको पढाइ खर्च स्याउ खेतीले धानेको छ,” छाँयानाथ रारा नगरपालिका ४ ताल्चाकी कृषक मायादेवी भामले भनिन्। आफ्नो बगानमा तीनसय बढी उत्पादन दिने स्याउका बोट रहेको उनले सुनाईन्।
स्याउ खेतीमा डेढ दशक विताएकी विष्णुमाया रोकायाले यसबाट जीवन चलाउन सहज भएको बताईन्। गर्त बर्ष धेरै हिँउ परेकाले सिचाईमा कुनै समस्या नभएको तर यस बर्ष हिउँ कम पर्नाले सिचाईमा समस्या भएको उनले बताईन्।
धेरै बर्ष भारतको हिमान्चल प्रदेशमा स्याउ सम्बन्धि काम गरेर अनुभव बटुलेका छाँयानथा रारा नगरपालिका ६ का कुसलाल कुलालले भारतमा सिकेको सीप यहाँ काम लागेको बताउँछन्।
पछिल्लो समय मुगुमा धेरै कृषकहरुले व्यवसायिक स्याउ खेती गरिरहेको भएपनि प्राविधिक ज्ञानको भने अभाव रहेको देखिन्छ। तर जिल्ला कृषि बिकास कार्यालय मुगुका प्रमुख चन्द्रबहादुर शाहीले स्याउ खेतीबारे बगानमै पुगेर प्राविधिक शिक्षा दिने गरेको बताउँछन्। (दानबहादुर बुढा, नेपाल न्यूज बैंक)
प्रतिक्रिया