सस्तैमा समेटियो नेपाल, नामिबियालाई एक सय ३३ रनको लक्ष्य

काठमाडौँ। आइसिसी मेन्स क्रिकेट विश्वकप लिग-२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत आज भएको उद्घाटन खेलमा नेपाल एक सय ३२ रनमा समेटिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३२ रन मात्रै बनाउन सक्यो। खराब ब्याटिङ गरेको नेपालका लागि भीम सार्कीको ब्याटिङले केही उकासेको थियो।

पाँचौँ नम्बरमा ब्याटिङ गर्न मैदान प्रवेश गरेका सार्कीले नेपालका लागि सर्वाधिक ४४ रनको योगदान दिए। उनले ८६ बल खेल्ने क्रममा दुई चौका र एक छक्का पनि प्रहार गरे। त्यस्तै गुल्शन झाले २१ रन बनाए। उनले ३१ बल खेल्दै तीन चौका प्रहार गरे र ३८ बल खेलेका करण केसीले तीन चौकाको सहयोगमा १६ रन बनाए।

कप्तान रोहितकुमार पौडेल १३ बल खेल्दै एक रन मात्रै बनाउन सके भने कुशल मल्लले २२ बलमा एक चौका र एक छक्काको सहउोगमा १५ रन बनाए। सोमपाल कामी दुई रनमा आउट हुँदा कुशल भुर्तेलले खाता खोल्न सकेनन्। त्यसैगरी पवन शर्राफले १२, अनिल शाहले आठ तथा आशिफ शेखले चार रन बनाए।

नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका जजेरार्ड एरास्मस पाँच विकेट चट्काए। त्यस्तै ज्याक ब्रासेल र रुबेन ट्रम्पलम्यानले समान दुई–दुई विकेट लिए।  (रासस)

प्रतिक्रिया