काभ्रे। राष्ट्रपति रामचन्द्र पौडेलले गरिबीको रेखाभित्र रहेका नागरिकलाई बाहिर निकाल्न सक्ने क्षमाता कृषि क्षेत्रमा मात्र भएको बताएका छन्। शुक्रबार वृहत काभ्रेपलान्चोक कृषि महोत्सव २०८० लाई सम्बोधन गर्दै पौडेलले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन्।
उनले भने, “गरीबीको रेखाभित्र परेका जनसमुदायलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा भएको हुँदा यी क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता मैले देखेको छु।”
निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको उनको भनाइ छ। काभ्रेपलान्चोक जिल्ला कृषि, पशुजन्य र बजारमुखी उत्पादनको दृष्टिले महत्वपूर्ण क्षेत्र हो भन्दै उनले कृषि उद्यमीहरू कृषि कर्मबाट अन्य पेशा, व्यवसायतर्फ आकर्षित भइरहेको सन्दर्भमा यस क्षेत्रका उद्यमीहरूमा कृषि कार्यप्रतिको आकर्षण, रोजगारी र आयआर्जनसहितको आत्मनिर्भरता बढाउने गरी कृषिजन्य व्यवसायको व्यापकता अभिवृद्धिमा महोत्सवले महत्वपूर्ण योगदान दिने विश्वास उनले व्यक्त गरे। (नेपाल न्यूज बैंक)
प्रतिक्रिया