तरकारी उत्पादन गर्ने सामाग्री पाउँदा कृषक खुसी

मुगु। छाँयानाथ रारा नगरपालिका–२ वडा कार्यालयले किसानहरूलाई तरकारी खेतीका लागि आवश्यक सामाग्री बितरण गरेको छ। गाउँमा तरकारी खेतीको सम्भावना रहेको भन्दै किसानले माग गर्न थालेपछि वडा कार्यालयले तरकारी खेतीका लागि आवश्यक पर्ने उपकरण उपलब्ध गराएको हो। 

किसानले तरकारी खेतीसम्बन्धी तालिम समेत पाएका छन्। वडा कार्यालयले चालु आर्थिक वर्षमा किसानलाई तरकारी खेतीमा सहयोग गर्न ४ लाख रुपैयाँ बजेट छुट्याएको थियो। सहयोगी हातहरूको समूह, सहास नेपालले थप २ लाख ४६ हजार रुपैयाँ थप गरेपछि अहिले किसानले ६ लाख ४६ हजार मूल्य बराबरका सामाग्री अनुदानमा पाएका छन्। 

चैनगाउँका ६० जना किसानहरूलाई एक थान ग्रीन हाउस, एक थान गार्डेन पाइप, ५० मिटर ग्रीन हाउस जाली, स्पि्रंकल एक थान, दुई सय लिटरको ड्रम गरी पाँच प्रकारका सामाग्री बितरण गरिएको छायाँनाथ रारा नगरपालिका–२ का अध्यक्ष परेकराज चौलागाईले बताए। 

यहाँ सहास नेपालले किसानलाई सहयोग गर्न विभिन्न कार्यक्रमहरू गर्दै आएको छ। “गाउँ नजिकै बजार छ, गाउँमा तरकारी खेतीको सम्भावना छ, त्यसकारण किसानलाई तरकारी खेतीलाई व्यवसायिक बनाउन र अर्थोपार्जनको माध्यम बनाउन प्रोत्साहन गर्दै कृषि उपकरणहरू वितरण गरिएको छ,” वडाध्यक्ष चौलागाईले भने। (नेपाल न्युज बैंक) 

प्रतिक्रिया