काठमाडौँ। सोमबारबाट ललितपुरको गोदावरीमा शुरु भएको नेपाली कांग्रेसको महाधिवेशनमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले संस्थागत सहभागिता जनाउन अस्वीकार गरेको छ।
सोमबार दिउसो युनियनका अध्यक्ष शिव लम्सालले एक विज्ञप्ति जारी गर्दै कांग्रेसको केन्द्रीय निर्वाचन समितिले विधानको अपब्याख्या गरी प्रतिनिधि चयनको निर्णय गरेको भन्दै संस्थागत सहभागिता नजनाउने निर्णय गरेको हो।
‘कांग्रेसको महासमिति बैठकका सन्दर्भमा प्रेस युनियनको प्रतिनिधित्वसँग जोडिएर सार्वजनिक भएका विषयहरुमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट नयाँ कार्य समिति चयन भइ नयाँ कार्यसमिति चयन भई क्रियाशील रहेको अवस्थामा प्रचलित विधान, परम्परा र नैतिक मूल्यको समेत प्रर्वाह नगरी लोकतान्त्रिक अभ्यासबाट निर्वाचित युनियन केन्द्रीय समितिको कार्यक्षेत्रमाथि गरिएको हस्तक्षेप हामीलाई कदापि स्वकार्य छैन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिले विधानको अपब्याख्या गरी गरेको निर्णयले प्रेस युनियन र कांग्रेसविचको शुभेच्छुक सम्बन्धलाई विथोल्न चाहनेहरुलाई बल पुगेको छ,’अध्यक्ष लम्सालद्धारा जारी विज्ञप्तिमा भनिएको छ।
निर्वाचन समितिको अक्षमता र विधानको गलत ब्याख्या गरी गरिएको निर्णयप्रति घोर भत्सर्ना जनाउँदै यथास्थितिमा महासमिति बैठकमा युनियनको संस्थागत उपस्थिति नहुने युनियनको विज्ञप्तिमा उल्लेख छ। साथै अलोकतान्त्रिक निर्णयविरुद्ध गोलबद्ध हुन र युनियनको गरिमामाथि गरिएको प्रहारको यथोचित प्रतिवाद गर्न पनि युनियनले आब्हान गरेको छ।(नेपाल न्युज बैंक)
प्रतिक्रिया