कांग्रेस महासमिति बैठकको बन्दसत्र सुरु, पाँचवटा प्रतिवेदन प्रस्तुत हुँदै

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकअन्तर्गत बन्दसत्र सुरू भएको छ । मंगलबार विहान नौं बजेदेखि बन्दसत्र सुरु हुने भनिएपनि ११ बजेदेखि मात्र सुरु भएको हो ।

सोमबार सभापति शेरबहादुर देउवाले उदघाटन गरेको बैठकमा पाँचवटा प्रतिवेदनहरु प्रस्तुत हुँदैछन् । प्रस्तुत हुने प्रतिवेदनहरूमाथि सहमति नजुट्दा मंगलबार विहान ढिलागरी बैठक सुरु भएको हो । बन्दसत्र सुरु भएलगत्तै उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव वाचन गरेर सुनाएका छन् ।

खासगरी महामन्त्री गगन थापाले प्रस्तुत गर्ने सांगठनिक प्रस्तावमा पार्टीका पदाधिकारीहरूबीच मतभेद भएपछि मंगलबार विहानसम्ममा प्रस्तावहरुमाथि मोटामोटी सहमति जुटेको छ ।

बन्दसत्रमा उपसभापति खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक र अर्थमन्त्री एवम् पार्टीका प्रवक्ता प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्थाबारेको प्रस्ताव पेश गर्नेछन् । त्यसपछि ती प्रस्तावहरूमाथि समूहगतरुपमा छलफल हुनेछ ।

महामन्त्री थापाले आफ्नो सांगठनिक प्रस्तावमा ‘०७९ को चुनावमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो, तर नेपाली कांग्रेस दृढ संकल्प गर्छ कि हामी आगामी चुनावहरू हाम्रो आफ्नै तागतमा एक्लै लड्ने छौं, र हाम्रा समर्थक–शुभेच्छुकलाई रूख चिह्नमा मात्रै मत हाल्न पाउने सुनिश्चित गर्नेछौं’ भन्ने उल्लेख गरेपछि त्यही विषयमा सभापति देउवासहित उनीपक्षीय पदाधिकारीहरूले आपत्ति जनाएका थिए । 

प्रस्तावमै त्यो विषय आउन नदिन संस्थापन पक्षले दबाब बढाएपनि अन्ततः महासमिति बैठकमा यो विषय प्रस्तावकारुपमा पेश गर्न सभापति देउवा तयार भएका छन् । अहिले नै गठबन्धन नगर्ने भन्ने लेखेर अघि बढ्दा वर्तमान सत्ता गठबन्धनमा खटपट हुन सक्ने भन्दै सभापति देउवा सशंकित भएका थिए ।
 

प्रतिक्रिया