काठमाडौँ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मधेस प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज दिउँसो देशभर नै बदली र वर्षाको सम्भावना छ। तापक्रम स्थिर रहनेछ। “अहिले मधेस प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भएको छ, दिउँसो सबै प्रदेशका एक–दुई स्थानमा भए पनि वर्षा हुने देखिन्छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ”, उनले भने।
मौसमविद् अधिकारीले तुलनात्मकरूपमा पछिल्ला दिनमा देशका सुदूरपश्चिम र कर्णाली प्रदेशमा बढी असर रहेकामा आज उक्त प्रणाली गण्डकी, बागमती हुँदै पूर्वी भेगतर्फ सरिरहेकाले बढी प्रभाव हुने अनुमान गरिएको बताए। आजभन्दा भोलि बिहीबार बढी वर्षाको सम्भावना रहेको र शुक्रबारदेखि मौसममा क्रमिकरूपमा सुधार हुने महाशाखाले जनाएको छ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली हुनेछ। मधेस प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनर चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थान तथा देशका बाँकी पहाडी भागका एक वा दुई स्थानमा मेघगर्ज र चट्याङसहित सामान्य वर्षा हुने सम्भावना छ। (रासस)
प्रतिक्रिया