कवि उदयका कविताबारे एउटा पाठकको टिप्पणी

काठमाडौं। कवि तथा संस्मरण लेखक उदय निरौलाको हालै एउटा कविता संग्रह बजारमा आएको छ। कवि उदयको सुदुर गाउँबस्तीहरू’ सार्वजनिक भएपछि यसबारे विभिन्न लेखक साहित्यकारहरुले टिकाटिप्पणी पनि गरिहेको पाईन्छ। जसमा कविको शब्दचयन र आञ्चलिक स्वादलाई बढी रुचाईएको प्रतिक्रियाहरु आएका छन् । 

युवा अवस्थामै चर्चित कविता लेखेर राष्ट्रिय तहको पुरस्कार समेत पाईसकेका उदय यात्रा संस्मरण लेखनमा सिध्दहस्त मानिन्छन्। मानवीय मूल्य, राष्ट्रप्रेम र सांस्कृतिक तथा भाषिक पक्षलाई निकै संवेदनशीलतासाथ स्थान दिएर कविले आफ्ना रचनाहरु सिँगार्ने गरेका छन्। अध्ययनसँगै शिक्षण पेशा गर्दा सुदूर गाउँबस्तीमा घुलमिल गर्ने अवसर पाएका उदयले मानिसले अभावमा जीवन बिताएको अवस्था नजिकबाट नियालेका छन्। तसर्थ उनका कवितामा मानवीय मूल्य बढी स्थान पाउने गरेको समीक्षहरु उल्लेख गर्दछन्।

केही समयअघि काठमाडौंमा आयोजित एक कार्यक्रममा कवि उदयको कविता संग्रह लोकार्पण गर्दा पत्रकार पुरुषोत्तम दाहाल, वरिष्ठ कवि विष्णुविभु घिमिरे, समालोचक डा ज्ञानु पाण्डे, कवि ध्रुब मधिकर्मी र रमेश पौडेलले कविताको वजन गहकिलो रहेको टिप्पणी गरेका थिए।

यही कविता संग्रह अध्ययन गरेपछि आफूमा परेको प्रभावबारे एकजना पाठक कृष्णदेव खनालले रोचक प्रतिक्रिया लेखेका छन्। उनकै शब्दमा यसरी वर्णन गरिएको छ प्रतिक्रिया-
प्रकृति र यसका छटाहरू, परदेशको पीडा, पेशागत छलछाम, नेपालको अधोगामी कृषि प्रणाली, यहाँका जातीय पर्वहरू जस्ता यावत बिषयमा मिहिन ढङ्गले बुनिएका कविताका कवि हुन् उदय निरौला। हाम्रा संस्कारहरूको उत्खनन तथा नेपाली भाषिकामा प्रयुक्त खाँटी शब्दावलीहरूको प्रयोगले गर्दा निरौलाका कवितामा पृथक पहिचान पाउन सकिने रहेछ।

बिनाब्रेक हुँइकिने मालगाडीको साम्राज्यजस्तो समाजलाई बाज नजरले हेर्न सक्छन् यी कवि। आठै प्रहर मोबाईल खिप्प्नेहरूलाई आँखा तरिएको छ कविताहरूमा। पादरी, पण्डित, मौल्मी, फेदाङ्बा, विजुवा र भन्तेहरूको जिवनचर्या खोतलिएको छ। 

समाजमा चर्किएको कुहिनो र पहाडको युद्धलाई नियालेर हेरेका छन्। कुहिनो रक्ताम्य भएको छ। पहाड भने ध्यानमग्न योगी झैं निरपेक्ष भएर गजधम्म उभिएको देखिन्छ यी कवितामा। यस्तै दारुण परिवेश पहिचान गरिएका चहर्‍याउँदा शब्द छन् उदयका अधिकांश कविताहरूमा। 

चेतनालाई स्वयं चेतनशिल बन्न नदिएर निदाउने मात्र बनाउँन तथाकथित नवचेतनावादीहरूले चेतनाकै लोरी गाएको कथावस्तु छन् उदयका कवितामा।

धमिरा र ऐंजेरूको सम्मिलनस्थल भएको भावभूमिमा बिरचित यी कविताले तपाइँलाई छुट्टै संसार डुलाउँछ। आमाको सुरक्षार्थ अशहीदको चिहान खन्न लल्कार्ने कवि हुन् उदय। कविता सङ्ग्रह पढ्दाको अनुभव यस्तै छ मेरो।

कुँद्नेवाला ईश्वरलाई पहिलोपटक स्त्रीकरण गरी 'कुँदेकी' भन्ने शब्दद्वारा विभूषित गरिएको। त्यसैले यो प्रयोगवादी कविता पनि हो।

वर्तमानको विभत्स स्वरुप उदाङ्गो पार्ने क्षमता छ यो शब्दजुलुशमा। विलाउँदै गएको राष्ट्रिय अस्तित्वको चिन्ता छ अनुच्छेद अनुच्छेदहरूमा। फेरि कविका दृश्यमा अधम राष्ट्र पनि हुँदोरहेछ। सँगै हाम्रा अगुवा छन् अधमत्व ग्रहण गर्छन् त के गर्ने। नाच्न नजान्ने आँगन टेढो भएन र!

पढ्दै जाँदा सिड्नी, भारत, बेलायत लेबनान पेरिस जस्ता भूगोलमा पनि पाठक पुग्न पाउँछ प्रसङ्गवस। उदयका कवितामा बिम्बको त  कुन्यु नै पाइन्छ। समान्य र सपाट पठनले कविता बुझ्न कठिन हुन्छ। कतै यो संसारमा घाम हराएको चिसोको कल्पनामा काँपिरहेका हुन्छन् कवि, कतै फ्रायडजस्ता दार्शनिकहरूलाई पात्र बनाइएर आफू द्रष्टा भएर उभिन्छन् कतै आफै पात्र बन्छन्।

अन्तरघुलित धर्म दर्शनमा सौन्दर्य खोजी गरी नेपाली सामाजिक चरित्रको पहिचान गराउँछ कविताले।

सुन्दर आवरण र बेग्लै फन्टद्वारा कलाकार रमेश पौडेलले सुनमा सुगन्ध थपिदिनुभएको छ। कृति सफलताको शुभकामना कवि उदय निरौलालाई वधाई !
 

 

प्रतिक्रिया