वैशाख २८ मा ‘खजुरे ब्रो’

काठमाडौँ। ‘लाइट कमेडी’ जनरामा आधारित फिल्म ‘खजुरे ब्रो’ले फस्टलुक सार्वजनिक गर्दै आउँदो वर्षको वैशाख २८ गते रिलिज मिति घोषणा गरेको छ।

शनिबार धरानमा आयोजित १२ औं संस्करणको ‘धरान रन’ मा फस्टलुक सार्वजनिक गर्दै मिति घोषणा गरेको हो। रोयल भीमसेन डिजाइन गरेको फस्टलुकमा फिल्मका प्रमुख चार कलाकार रियर राई, नीति शाह, महेश त्रिपाठी र नबिन मानन्धर फिचर्ड छन्। निर्माता नबिन मानन्धरले धरानमा छायाङ्कन गरिएको फिल्मको फस्टलुक धरानकै दर्शकको सम्मान स्वरुप सार्वजनिक गरिएको बताए।

अभिनेत्री नीतिले आफ्नो ‘डेब्यू’ फिल्मको सुटिङ सकेर प्रदर्शन मिति सार्वजनिक हुँदा खुशी लागेको बताइन्। फिल्मका लेखक तथा निर्देशक सुरज सुनुवारले धरानसँग आफ्नो साइनो जोडिएको र खजुरेको कथाले आफूलाई छोएकोले यो फिल्म आफ्ना लागि विशेष रहेको बताए। फिल्ममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको पनि विशेष भूमिकामा अभिनय गरेका छन्। उनले आफूले पनि अभिनय गरेको र धरानमा नै छायाङ्कन गरिएको उल्लेख गर्दै फिल्मले दर्शकको मन जित्ने दाबी गरे।

फिल्मको टिमले मेयर साम्पाङको श्रमदान अभियानमा सहयोग गरेको छ। हर्कले श्रमदानमा निर्माण गरिरहेको श्रम संस्कृति पार्कमा पुगेर औजारहरु हस्तान्तरण गरेको थियो। उक्त अभियानमा फिल्मका निर्माता, लेखक तथा निर्देशक सुरज सुनुवार, कलाकार तथा निर्माता नवीन मानन्धर, कलाकार रेयर राई, पुष्कर कार्की तथा धरानका स्थानीय कलाकारहरुको सहभागिता रहेको थियो।

फिल्ममा प्रकाश भुजेल, विनीता थापा मगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको पनि अभिनय रहेको छ। फिल्ममा दार्जिलिङका कलाकार शानि्तला तामाङको पनि अभिनय छ।

दिव्य दृश्य इन्टरटेन्टमेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा नवीन मानन्धर र सुरज सुनुवारको लगानी छ। फिल्ममा अनिल मानन्धर र पिकेश मानन्धर सह–निर्माता छन्। फिल्ममा शिशिर बिसंखेको छायाङ्कन र अनमोल गुरुङको संगीत छ। फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया