उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ स्थित रमिते डाँडाबाट प्याराग्लाइडिङ गर्ने क्रममा सोमबार सालको रुखमा अड्किएका दुई जना प्याराग्लाइडरको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
कास्कीको पोखरा–१८ सराङकोटका २९ वर्षीय रवीन्द्र ढकाल (पाइलट) र उदयपुरको त्रियुगा–११ विशालनगरका २६ वर्षीय सिद्धान्त बस्नेत हावाको वेगले अनियन्त्रित भएर रुखमा अड्किएका थिए ।
नवोदय सामुदायिक वन चप्पनको जंगलमा करिब सय फिट अग्लो रुखमा अड्किएका उनीहरुलाई सशस्त्र प्रहरीको नेपाल नं. ५ त्रियुगा गण उदयपुरबाट परिचालित टोलीले सकुशल उद्धार गरेको हो ।
स्थानीय बासिन्दा तथा अन्य सुरक्षा निकायको सहयोगमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिमप्राप्त फौजले रोप रेस्क्यु विधि अपनाई उनीहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया