प्रधानमन्त्रीलाई लेखकको प्रश्न: १४ महिनामा के चाहीं गर्नुभयो ?

काठमाडौँ। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई काल्पनिक कुरा गरेर गठबन्धनलाई झुक्याएको आरोप लगाएका छन्। 

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै लेखकले प्रधानमन्त्री दाहालले गठबन्धका मूल्य र मान्यतालाई भत्काएर एकतर्फी गठबन्धन तोडेको आरोप लगाएका हुन्। 

उनले भने, “नेपाली कांगेसले गठबन्धनमा भएका निर्णय र सहमतिलाई इमान्दारिता, निष्ठा र मर्यादाका साथ पालना गर्यौं। तर पछिल्लो समय गठबन्धनमा अविश्वास हुनेगरि गतिविधि भए। राजनीतिमा मर्यादा र सम्मानले मात्र पुग्दैन। प्रधानमन्त्रीले गठबन्धका मूल्य र मान्यतालाई भत्काएर, गठबन्धनका सहमतिहरु तोडेर एकतर्फी ढंगले गठबन्धन फेर्नुभयो।”

प्रधानमन्त्रीले कांग्रेस गठबन्धनमा रहेकाबेला देशमा सुशासन विकास र सामाजिक न्याय भएन भन्ने गरेको भन्दै लेखकले १४ महिनामा के चाहि गर्नुभयो तपाईले ? भन्दै प्रश्न गरे। 

उनले भने, “जनचाहाना अनुसार सुशासन विकास र सामाजिक न्यायको आकांक्ष पूरा गर्न भनेर लेखेको रहेछ। पोहोर साल प्रधानमन्त्री हुनुभएको १५ महिना लाग्दैछ। १५ महिनापछि सुशासन विकास र सामाजिक न्याय भएन भन्नु भएछ त्यसो भए यो १४ महिनामा के चाहि गर्नुभयो तपाईले ? प्रश्न उठ्छ कि उठ्दैन्। यहाँ त उहाँले गरेको बढो काम सुनाउनुभयो। अहिलेको कुरा साँचो हो कि फाल्गुन २१ गते गरेको हस्ताक्षर साँचो हो ? यस्ता काल्पनिक कुरा गरेर राजनीनिमा झुक्याउन सकिदैन्। एकैछिनलाई सकिएला तर सँधै सकिँदैन्।”

उनले भने, “अहिले यसरी गठबन्धन भत्काउने भनेको यो जनमतको पनि घोर अपमान हो। जनमतको अपमान गर्दै कपोकल्पित कारण र मुद्दा उचालेर आफ्नो जिम्मेवारी भाग्ने कदमलाई हामीले राजनीतिक बेइमानी भनेका हौं।”

प्रधानमन्त्रीको कदमले राजनीतिक अस्थिरता बढेर गएको लेखकको टिप्पणी थियो। उनले भने, “हामीले गठबन्धनप्रति इमान्दारिता देखाएका थियौं । हामीले इमान्दारिता देखाउँदा पनि गठबन्धन भत्काउने कांग्रेसप्रति विश्वासघात भएको ठहर गरेका छौं।”(नेपाल न्यूज बैंक)

प्रतिक्रिया