राष्ट्रिय सभा अध्यक्षमा दाहाल निर्वाचित

काठमाडौँ। राष्ट्रिय सभा अध्यक्षमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नारायण प्रसाद दाहाल बहुमतले चुनिएका छन्।

मंगलबार राष्ट्रिय सभामा भएको निर्वाचनमा अध्यक्ष दाहालको पक्षमा ३९ मत खसेको छ। दाहाल राष्ट्रिय सभामा १७ सिट सहितको पहिलो पार्टी नेकपा माओवादीका सांसद हुन्। सभामा ५६ सांसद उपस्थित थिए। उनलाई एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेको थियो।

यस्तै, प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेद्वार युवराज शर्मा पराजित भएका छन्। शर्माको पक्षमा जम्मा १७ मत खसेको राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले सुनाइन्। शर्मालाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको थियो।

तर, शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव नै सभाले निर्वाचन पूर्व नै अस्वीकृत गरेको थियो। मंगलबार भएको मतदानमा शर्माको विपक्षमा बहुमत सदस्यले मत जाहेर गरेपनि उनको नाम अस्वीकृत भएको हो। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया