विराटनगर। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स मृत अवस्थामा फेला परेकी छन्। घटनाको प्रकृतिअनुसार उनको हत्या भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सिरहाको फुलकट्टी घर भएकी २२ वर्षीया चन्द्रिकाकुमारी दास हत्या गरेर फालेको अवस्थामा विराटनगर महानगरपालिका–४ स्थित एक घरमा आज भेटिएकी हुन्।
उनी उक्त स्थानमा रहेको धिरेन्द्र गिरीको घरमा डेरा बस्दै नोबेल शिक्षण अस्पतालमा काम गर्दै आएकी थिइन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालमा अनुसार उनी बसेको घरको कोठाभित्रको शौचालयमा शव फेला परेको थियो।
घाँटी र शरीरका अन्य भागमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा शव भेटिएको थियो। उनको शरीरभरि चोटैचोट देखिएको छ। प्रहरीले घटनास्थलको अध्ययन गरी अनुसन्धान सुरु गरेको जनाएको छ। कसले किन हत्या गरेको भन्ने खुलेको छैन।
घटनाको विभिन्न कोणबाट अनुसन्धान थालिएको डीएसपी दाहालले बताए। घटनास्थल आसपासका स्थानीयसँग सोधपुछ गर्ने, घरका मानिसहरुसँग बुझ्ने लगायत काम भइरहेको प्रहरीले जनाएको छ।(नेपाल न्यूज बैंक)
प्रतिक्रिया