पशुपति क्षेत्रका पुरातात्विक महत्वका धारा, कुवा र इनारहरूको उत्खनन् सुरु

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले पाशुपत क्षेत्रमा पुरातात्विक तथा लोपोन्मुख अवस्थामा रहेका धारा, कुवा र इनार लगायतको उत्खनन् कार्य थालेको छ। यहाँ दबाइएका, लोप हुने अवस्थामा पुगेका, पुरातात्विक तथा ऐतिहासिक महत्वका वस्तुहरुको खोजी कार्य थालिएको महानगरको सम्पदा तथा पर्यटन विभागका संयोजक एवम् वडा नं. ८ का अध्यक्ष आशामान संगतले बताए।

“तीब्र शहरीकरणसँगै यहाँका कुवा, इनार, पाटी पौवा, धारा लगायतका संरचनाहरू माँसिएका छन् । कतिपय संरचनाहरू पुरिएका छन्,” उनले भने, “पुरातात्विक एवम् ऐतिहासिक महत्वका वस्तुहरू संरक्षण गर्नुपर्नेछ, ढिलै पनि महानगरपालिकामार्फत् हामीले प्रयास थालेका छौँ।”

वडा ८ भित्र रहेका नौ वटा इनार, नौ वटा डबली, नौ वटा ढोका, नौ वटा शक्तिपिठ, नौ वटा टोल, नौ वटा ढुङ्गेधारा, नौ वटा जात, नौ वटा पोखरी, नौ वटा पाटीपौवा तथा पुराताति्वक ऐतिहासिक संरचनाहरुको संरक्षणका निमित्त उत्खनन् सुरुवात गरिएको अध्यक्ष संगतले जानकारी दिए। 

उनले महानगरपालिकापालिका –८ अन्तर्गत पर्ने ताम्रेश्वर मन्दिर परिसरबाट वासुसशी गल्ली जाने तर्फको ऐतिहासिक, पुरातात्विक इनारको उत्खनन कार्यसँगै वडा भित्र रहेको सम्पूर्ण ऐतिहासिक वस्तुहरूको उत्खनन कार्यको शुरूआत भएको बताए। 

पुरातात्विक इतिहासले भरिपूर्ण सम्पदाहरूको उत्खनन्मा वडाले प्रमाणसहित खोजी कार्य अगाडि बढाएको उनले बताए। “हामीले जयवागेश्वरीबाट पशुपतिनाथ मन्दिर परिसर जाने बाटोमा रहेको इनार तथा इटापाखाको पिपल बोटसँगै रहेको इनारको समेत खोजी गरी सप्रमाण उत्खनन्को तयारी गरेका छौँ,” वडाध्यक्ष संगतले भने। 

उक्त इनार करिब ४० देखि ५० वर्ष पूरानो भएको र तत्कालीन समयमा स्थानीयवासीले त्यहीँ इनारको पानी  पिउने तथा ताम्रेश्वर महादेवलाई जल अर्पण गर्ने गरेको स्थानीयको भनाई छ। 

वडा भित्रको सबैभन्दा लामो इनारका रूपमा रहेको उक्त इनार बस्ती बाक्लो भएसँगै वरपरका स्थानीयले इनारलाई पुरेर दबाएको र कंक्रिट बनाएर त्यसमाथि बाटो बनाएकोले अब वडाले उत्खनन् गर्ने योजना बनाएको छ।  (नेपाल न्यूज बैंक)

प्रतिक्रिया