इलाम २ मा उपनिर्वाचनका लागि कांग्रेसले उम्मेदवारहरुको प्रतिबद्धता माग्यो

इलाम। आउँदो बैशाख १५ गतेका लागि तय गरिएको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारी प्रस्ताव पेस गर्न सूचना जारी गरेको छ।

शनिबार बसेको क्षेत्रीय कार्य सम्पादन समितिको बैठकले चैत ५ गते साँझ ५ बजेसम्म इच्छुक उम्मेदवारहरुले आवश्यक कागजातसहित निवेदन माग गरिएको क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गोले जनाएका छन्।

उम्मेदवारीको निवेदन दिनका लागि एक/एक जना प्रस्तावक र समर्थक, राजनीतिक वैयक्तिक विवरण, पार्टीका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण रुपले सक्रिय रहने प्रणसहितको प्रतिबद्धता पत्र माग गरिएको छ।

इलाम निर्वाचन क्षेत्र २ बाट निर्वाचित तत्कालीन प्रतिनिधि सभा सदस्य नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो। सोही रिक्त स्थानमा उप निर्वाचन हुन लागेको हो।

उपनिर्वाचनका लागि कांग्रेसबाट जिल्ला सभापति डम्बर खड्का, महासमिति सदस्य एवम महाधिवेशन प्रतिनिधि भेषराज आचार्य, पूर्वसांसद केशव थापा र नगेन्द्र कुमाल आकांक्षी छन्।

उम्मेदवार चयनका विषयमा केन्द्रीय तहमा पनि छलफल चलिरहेको छ। केन्द्रीय पदाधिकारीहरुको उपस्थितिमा स्थानीय स्तरमा आकांक्षीका सवालमा सर्वेक्षण गरी लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउनेगरी छलफल चलिरहेको छ।

तर गुटगत कुरा नमिल्दा उम्मेदवार चयन पेचिलो बन्दै गएको छ। इलाम २ को उपनिर्वाचनलाई शिर्ष दलहरुले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन्। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया