बिमति

आकांक्षा र हैसियतको असन्तुलन र पुस्तान्तरणको सपना 

yuvraj acharya

दुई वर्ष अघि हाम्रा चुनावी अभ्यासमा भएका विकृतिहरूबारे भुक्तभोगी र पर्यवेक्षकहरूसँग संवादका क्रममा भड्किलो चुनाव हुने र अक्सर तनावपूर्ण चुनाव हुने धेरै जिल्ला डुल्ने मौका मिलेको थियो । एउटा चुनाव सकिएको करीव अढाई वर्ष र अर्को आउन झण्डै त्यति नै अवधी बाँकी रहेको बेला थियो, त्यसैले भुक्तभोगीहरूले आफ्ना अनुभूति खुलस्त राखेका थिए ।  बन्द कोठाभित्र भएको छलफल र भुक्तभोगीको सहभागिताले आफ्ना अनुभूति निर्धक्क राख्ने वातावरण थियो, कार्यकर्ता थिएनन्, न सञ्चारकर्मी थिए। न भोट घट्ने डर थियो, न कसैको खप्की खाने सम्भावना  ।

काठमाण्डुमा भएको एउटा छलफलको प्रसङ्ग सम्झन्छु । नेपाली काँग्रेसका एकजना वरिष्ठ नेताले आफ्नो खर्च बढ्ने मुख्य कारक मतदातालाई खुवाउने मासुभात, बाँड्ने पैसो  नभएर आफ्नै कार्यकर्ता भएको अनुभव सुनाएका थिए ।  चुनावको अघिल्लो दिन बिहानै पञ्चायतकालदेखिकै सहयोद्धा, पुरानो कार्यकर्ता  पिछडिएका जातीको बाहुल्य भएको एउटा वस्तीमा पुगेछन् र आफ्नो उमेद्वारलाई फोन लगाउन थालेछन्, 'दाइ यहाँ ६-७ लाख रुपियाँ लिएर तुरुन्तै एकजना पठाइदिनु पर्यो, म बिहान देखि यहीँ बसेको छु, ढिला गरे आजै नेकपाले सबै किनिदिन्छ।' यस्तै पिछडिएका बस्ती नै एकमुष्ठ भोट आउने ठाउँ, उनले आफ्ना नजिकका मान्छे खटाएर बुझ्न लगाए, हो रैछ, ति फोन गर्ने कार्यकर्ता विहान देखि नै त्यही वस्तीमा रैछन्, हल्का मिनिभोज गरेर वस्तीका बुढापाकालाई वरिपरि राखेरै बसेका पनि रैछन् । एक-डेढ सय भोट भएको बस्तीमा ७ लाख खर्च माग्न थालेपछि उमेद्वारको सातो गएछ, र उनलाई अनुभूत भएछ- चुनाव खर्चिलो हुने सबैभन्दा बलियो कारक रुपान्तरित कार्यकर्ता हुन् । र त्यति धेरै खर्च माग्ने कार्यकर्तालाई हप्काउने हैसियतमा कुनै दलका उमेदवार छैनन् । जिताउन नसके पनि त्यस्ता कार्यकर्ताले हराउने हैसियत भने राख्छन् । बरू घटाएरै ५० हजार, एकलाख दिनु पर्ने बाध्यतामा उमेद्वार छन् । गूट-परस्त नेकपाका  केही र  मधेशी दलका नेताको समेत अनुभूति उस्तै उस्तै देखियो । भड्किलो चुनावका कारण हात उठाएर उमेदवारी फिर्ता लिएका समेत केही नेता भेटिए ।

ति कार्यकर्ताले मतदाता किन्ने नाममा किन आफ्नै नेतासँग पैसाको बार्गेनिङ्ग गर्छन् यसबारे कसैले गहिरिएर सोचेको देखिएन । अहिले काङ्ग्रेसभित्र पुस्तान्तरण मार्फत रुपान्तरणको  बहस तातेको बेला मलाई ति कार्यकर्ताको मनोदशाबारे घोत्लिन मन लाग्यो । पञ्चायतकाल देखि राजनीति गरे, उमेरले झण्डै  ५५ वर्ष नाघे तर चुनाव आएपछि उमेदवार भने तीन दशक अघि जो थियो, उही । सांसद उनै, मन्त्री उनै केन्द्रीय नेता उनै । नेकपाको विस्तारसँगै काँग्रेसका कार्यकर्ताका लागि त झन अवसर यति साँगुरिए, कार्यकर्ताको व्यवस्थापन नै चुनौती बनेर निस्कियो । सङ्घीयताले  घटाएर दश प्रतिशतमा सीमित गर्दिएका स्थानीय तहका पदहरू र डाँडा काट्न लागेको उमेर । विचरा पर्खिउन नि कति ? कि नेताले पार्टी छोड्नु पऱ्यो, कि नेता मर्नु पर्यो । नत्र सँधैको 'कार्यकर्ता' ।  सँधै 'त्याग'को आलापले त चुल्होमा आगो बल्दैन । हो यही रियालिटीले सिर्जना गरेको रैछ कार्यकर्ताको त्यो मेन्टालिटी । तर राजनीति गर्ने नेताले त्यो कहिल्यै आफ्नो बहसमा ल्याएनन् । अनि किन नपलाओस् कार्यकर्तामा 'दाइले राज्य लूट्छन, हामी दाइलाई लुटौ' भन्ने मनोभाव ?

राजनीतिकर्मीको व्यवहारमा 'चिन्ता' भन्ने तत्वको ठूलो प्रभाव हुन्छ । आकांक्षा प्रधानमन्त्री बन्नेसम्म को हुन्छ, हैसियत गाउँपालिकाको अध्यक्ष बन्न समेत हम्मेहम्मे पर्ने खालको । कार्यकर्ताको ठूलो पङ्तिमा त्यो ग्यापले एउटा मनोविज्ञानको सिर्जना गरेको छ । अकुपाइड स्पेस वा आकांक्षाबाट इनर्जी वा त्यो आकांक्षा प्राप्त गर्ने क्षमता घटाइदिँदा जे शेष रहन्छ त्यो चिन्ता हो । इनर्जीको सँधै समयसँग प्रत्यक्ष सम्बन्ध हुन्छ । जसको समय घड्किन लाग्छ तर लक्ष टाढै छ भने चिन्ता बढी हुन्छ, त्यसलाई कम गर्न कि समय बढाउनु पर्छ कि शक्ति । समय आफ्नो वसमा छैन, त्यसैले इनर्जी बढाउनु नै एकमात्र बिकल्प रहन्छ । जब चिन्ता बढी हुन्छ, सोच र व्यवहारमा छटपटिपन वा डिस्परेशन पैदा हुन्छ । हाम्रा धेरै नेताको व्यवहार त्यही छट्पटिपनको उपज हुन् । बाहिर हेर्दा मात्रै कन्फिडेण्ट देखिने हुन् ।

हाम्रो ४०/५० वर्ष देखि राजनीतिमा संलग्न पुस्ताको समय सीमित छ, शक्ति थप आर्जन गर्ने कुनै उपाय त्यो पुस्ताले देखेको छैन, केवल गूटलाई त्यो शक्ति आर्जनको माध्यम बनाएर बसेको छ । बिमलेन्द्र निधि हुन् कि प्रकाशमान सिंह हुन्, यही मनोविज्ञानका उपज हुन् । अर्को अधिवेशनमा त  स्वतः रामचन्द्र बनिनेछ भन्ने बुझाइका कारण मात्रै तिनले चुनाव लडेका हुन्, शेखरपछि भन्दा देउवापछि आफ्नो  झिनो आशा बाँकी रहेकैले देउबा पछि लागेका हुन् । यसलाई अझ यसरी बुझौँ- माथि फ्याँकेको ढुङ्गो त तल झर्न सक्छ, तल झरेको माथि आउने सम्भावना हुन्न । यही बुझेरै उनीहरूले नेतृत्व तल जानबाट रोकेका हुन् । उनीहरूको मनोविज्ञानलाई म यसरी बुझ्छु।

आम मानिसको बुझाइमा हाम्रा दलका नेताहरूका लागि लोकतन्त्र सत्ताको भर्याङ्ग मात्रै हो, संस्कार होइन। आफूमा सामन्ती संस्कार हुर्काउने र कार्यकर्तामा 'प्रजा राजनैतिक संस्कार' खोज्ने  प्रवृत्ति काँग्रेस, बामपन्थीदेखि हामपन्थीसम्म सबैमा देखियो । पार्टी सभापतिबाट हट्नासाथ प्रधानमन्त्रीबाट हटाउँछन् भन्ने देउबाको त्यो डर र पुस्तान्तरणको चर्को नारा उराल्ने सिंह र निधिको देउबालाई जोगाउने हर्कत दुवै हामीले जोडबलका साथ प्रवर्द्धन गरिराखेको संकीर्ण राजनैतिक संस्कारकै उपज हुन् ।

बामपन्थको फेटल-अट्र्याक्सनमा परेका हामी नेपालीले खिसीट्युरी गर्ने गरेको भारतकै राजनीतिक संस्कार हेरे नि हुने हो जहाँ बिजेपीका तीन-चार जना पूर्व अध्यक्षहरू त नरेन्द्र मोदीको सरकारमा मन्त्री छन् जवकी कहिल्यै पार्टी सभापति नभएका मोदी प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गर्ने क्रममा छन्। हाम्रोमा प्रधानमन्त्रीले 'मलाई सभापति नबनाए प्रधानमन्त्रीबाट समेत हटाउँछन' भन्दै भोट मागेको समाचार आउँदा कम्तिमा केही काँग्रेस कार्यकर्ताले मोदीको दललाई पक्कै सम्झिए होला र काँग्रेस आईसँग तुलना गरे होला । बिजेपीमा कसैले लगातार तेस्रो कार्यकाल सभापति भएको छैन तर फर्किफर्कि तीन पल्ट एउटै व्यक्ति सभापति बनेको छ, पार्टी अध्यक्ष नभै प्रधानमन्त्री बनेको छ, वहालवाला पार्टी अध्यक्ष समेत कहिल्यै अध्यक्ष नभै प्रधानमन्त्री भएका नेताको सहयोगी मन्त्री भएर काम गरेको छ । काँग्रेस आई भने कुप्रो हजुरबाको योगदान भँजाएर पनातीलाई अध्यक्ष बनाउँदैछ, नेताको पुत्र स्वतः नेता मान्छ। 

काङ्ग्रेसका अहिलेका अध्यक्ष-काँक्षी चार-पाँच जना एक प्रकारले विरासती राजनीतिका ठूला संवाहक थिए र ती सबैले एउटा परीक्षा फेल गरे ।

कार्यकर्ता - प्रधान राजनीतिमा पक्कै विरासत र हिरासतको हिसाब किताब हुन्छ । जब राजनीति कार्यकर्ताबाट बाहिर निस्केर जनतामा पुग्छ, 'को कस्को बच्चा ? कस्को कति अवधि जेल' जस्ता प्रश्न गौण हुँदै जान्छन् । सातसाले, सत्रसाले, छत्तीससाले, छयालीससाले कार्यकर्ता वरिपरि घुमेको काँग्रेसी राजनीतिमा बैसट्ठी/त्रिसट्ठी/साले पुस्ताको जवर्जस्त प्रवेश भैसकेको छ । अस्थित्वको लडाइँमा गूटको सहारा लिन वाध्य त्यो पुस्ता अवको आमनिर्वाचनमार्फत कि  राज्यका कार्यकारीमा पकड जमाउन पुग्छ या बृद्ध नेतामाथि हारको दोष थोपर्दै पार्टीको राजनीतिमा कब्जा जमाउन खोज्छ । त्यसकालागि अस्थित्वको लडाइँ सह-अस्थित्वको लडाइँमा परिणत हुन्छ।

एमालेमा नि करीव-करीव उस्तै अवस्था छ । अहिले बाको छत्रछायाँमा मात्र अस्थित्व रक्षाको सम्भावना देख्नेहरू 'बा' पछिको राजनीतिको कसैले कसैलाई राजा नमान्ने स्थितिमा प्रवेश गर्दैछन । अर्थात विरासती र हिरासती एउटा जमात अर्को अधिवेशनबाट बाहिरिँदैछ । अस्थित्वको लडाइँबाट सह-अस्थित्वको लडाइँमा जानासाथ भाइचाराको राजनीतिको पुनरुत्थान हुनेछ । उमेर भएका नेतामा समय बढी हुने हुँदा अघिल्लो पुस्ताको जस्तो छटपटि कम हुनेछ, छटपटि कम हुने बित्तिकै दिमाग सिर्जनशील हुनेछ । बीपी र मदन भण्डारीको जस्तै सपना देखाउने र त्यो प्राप्त गर्ने बाटो देखाउने कोही त्यहीँ भित्र जन्मिन  सक्छ ।

आफ्ना खेर गएका केही दशकको क्षतिपूर्ति गर्नु पर्ने बाध्यतामा रहेका नेताको बाँकी समयमै आकांक्षा पूरा गर्न  देखिएको छटपटि बिस्तारै नेपाली राजनीतिको ड्राइभिङ्ग फोर्सको रुपमा नरहने मेरो विश्वास छ ।  
 

प्रतिक्रिया