प्रस्तावित महालेखापरीक्षक रायाविरुद्ध उजुरी आह्वान

काठमाडौँ। प्रस्तावित महालेखापरीक्षक तोयम रायाको सुनुवाइ प्रक्रिया अघि बढेको छ। सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले रायाविरुद्ध उजुरी दिन आह्वान गर्दै दश दिनको समय तोकेको छ।

संसदका महासचिव पद्यप्रसाद पाण्डेयले सोमबार नयाँ बानेश्वरमा बसेको सुनुवाइ समिति बैठकले रायाविरुद्ध उजुरी दिन दश दिने सूचना जारी गर्ने निर्णय गरेको जानकारी दिए।

आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा तोयम रायालाई सिफारिस गरेको थियो। पूर्वअर्थसचिव समेत रहेका राया हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी हुन्।

६ वर्षको पदावधि रहने महालेखा परीक्षकका लागि संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन भएपछि मात्र राष्ट्रपतिले महालेखापरीक्षक नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।  (नेपाल न्यूज बैंक) 

प्रतिक्रिया