ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प, चीन चिन्तित

काठमाडौँ। ताइवानमा शक्तिशाली भूकम्प गएको छ। बुधबार ७.५ म्याग्निच्युडको भूकम्प गएको हो। यसको धक्का जापान र फिलिपिन्ससम्म महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। ताइवानको सेन्ट्रल वेदर ब्यूरोका अनुसार यो २५ वर्षयता ताइवानमा आएको सबैभन्दा शक्तिशाली भूकम्प हो।

यसअघि सन् १९९९ मा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसबेला २ हजारभन्दा बढीको मृत्यु भएको थियो। ताइवानको दमकल विभागका अनुसार एक जनाको मृत्यु भएको छ। ५० जना घाइते भएका छन्।

मौसम विभागका अनुसार पूर्वी ताइवानको हुआलियन सहरमा भूकम्प गएको हो। यसको केन्द्र पृथ्वीबाट ३४ किलोमिटर तल थियो। नेपाली समय अनुसार बिहान पौन ६ बजे भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पका कारण धेरै भवनहरू ध्वस्त भएका छन् भने पहिरो पनि गएको छ। ताइवानी मिडियाका अनुसार भूकम्पपछि ताइवानका ९१ हजारभन्दा बढी घर बिजुलीविहीन छन्। भूकम्पले तार र विद्युत् आयोजनामा क्षति पुगेको छ।

भूकम्पपछि ताइवान, जापान र फिलिपिन्सले सुनामीको चेतावनी जारी गरेका थिए। जापानको मौसम विभागले समुन्द्रमा ३ मिटर अग्लो छाल आउने अनुमान गरेको थियो। तर, अहिले जापान र फिलिपिन्सले सुनामीको चेतावनी भने हटाएका छन्।

चिनियाँ सञ्चारमाध्यमका अनुसार चीनस्थित ताइवान मामिलाको अनुगमन गर्ने कार्यालयले भूकम्पबाट भएको क्षतिप्रति चिन्तित रहेको र ताइवानलाई सहयोग पठाउन तयार रहेको जनाएको छ। चीनले ताइवानलाई आफ्नो हिस्सा दाबी गर्दै आएको छ। तर, ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र दावी गर्दै आएको छ। (नेपाल न्यूज बैंक)  

प्रतिक्रिया