काठमाडौँ। सरकारले राष्ट्रियसभाको सदस्य पदमा अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको छ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा.अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष बैठकले सिफारिस गरेको जानकारी दिइन।
राष्ट्रपतिबाट मनोनीत हुने एक राष्ट्रियसभा सदस्य पद रिक्त रहेको थियो। सोही रिक्त पदमा पूर्व राजदूत समेत रहेकी शाक्य एमाले कोटामा सिफारिस भएकी हुन्। ‘यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा’ बोलको गीतमा स्वर समेत दिइसकेकी शाक्यलाई एमाले अध्यक्ष केपी ओलीले ‘साली’ भनेर सम्बोधन गर्ने गरेको निकटस्तहरु बताउने गर्छन।
शंखुवासभाकी उनी ओली पत्नी राधिका शाक्यको आफ्नै बहिनी भने होइनन्। व्यवस्थापन विषयमा विद्यावारिधी गरेकी शाक्यले पद्मकन्या कलेजमा एक दशक प्राध्यापन समेत गरेकी थिइन। इजरायलका लागि राजदूत भइसकेकी उनी पूर्वसांसद अजयक्रान्ति शाक्यकि पत्नी हुन्। (नेपाल न्यूज बैंक)
प्रतिक्रिया