उनी कवितासँग आँखा जुधाएर वार्ता गर्छिन्

bhagawat khanalकसै कसैले प्रश्न गरेको सुनिन्छ, के कविताले खान दिन्छ ? म भन्न चाहन्छु, हो कविताले खान दिन्छ । कविताले कविलाई स्वान्त सुखको खान्की दिन्छ ।  कविताले कविलाई मनको खुसी, सन्तुष्टि  र शान्ति दिन्छ । हृदयलाई भारी बनाएर बसेको उद्वेग शब्दको रूपमा बाहिर निस्केपछि कविको हृदय हलुका हुन्छ । हृदय हलुका भएको कवि पाथी भात खाएको अनुभव गर्दछ । 

कवित्वको भावभूमिमा विचरण गरिरहेको कविले स्वत्व बिर्सन्छ । अनि ऊ एउटा सार्वभौम व्यक्तित्वमा रूपान्तर भएर आफ्नो अभिव्यक्तिलाई अरु सयौंको आवाज बनाएर प्रकट हुन्छ । यहाँ म शशी भट्टराई श्रेष्ठको ‘निर्मल तलाउमा तरङ्ग’ कविता सङ्ग्रहको समीक्षा गर्ने जमर्कोमा छु । शशी कवि मात्र नभई बढिया  समीक्षक पनि हुन । तैपनि म पूर्णिमाकी शशिलाई जुनकिरीको उज्यालो देखाए झैँ यो निष्फल चेष्टा गर्दैछु । शशी वास्तवमै राम्रो कवि हुन् क्ष् ‘संघे शक्ति कलि युगे’को हुलहालमा पनि सशक्त उपस्थिति देखाउन सक्नुमा उनको प्रतिभा नै मुख्य कारक हो ।   

सभ्यताले निर्माण गरेका अनेकौं बारबन्देजहरू छन् यहाँ । कयौं कुरा छन, जो सिधा शब्दमा व्यक्त गरे बात लाग्छ, झगडा,  कलह र भनावैरी पर्छ । चित्तले मान्दैन, उता सभ्यताले भने मौन बस् भन्छ । प्रकृतिको सुन्दर सीमाबाट सांस्कृतिक प्रतिबन्धको   दुनियाँमा प्रवेश गरेको मान्छे अनेकौं रोष, आवेग र उत्तेजनामा हुन्छ ।  कवि शशीमा पनि रोष छ, आवेग छ र किञ्चित क्रोध पनि ।  बिछट्टै रिस उठे पनि बडो शालीन तरिका अपनाएर शब्दको चाबुक चलाउने माध्यम हो कविता । जसलाई प्रहार गरिएको हो,  उसले बुझे पनि ऐया भन्न पाउँदैन  । यी शशी त आफ्नो कविताको सिकारलाई चिसो पानीमा चोपलेको  सिस्नाले तिघ्राभरि हानेर पनि कुनै प्रतिकार गार्न नमिल्ने अवस्थामा पुर्‍याउन सिद्धहस्त छिन् । एक हिसाबले भन्ने हो भने भावनात्मक मारपिट हो शशीको कविता कर्म  ।  

आफ्ना एकभन्दा अर्को उम्दा पैंतिसवटै कवितामा छरिता र सरल शब्दरूपी वाणले मर्ममा प्रहार गर्न निपुण छिन् शशी । उनी चलनचल्तीका अङ्ग्रेजी शब्द प्रयोग गर्न कत्ति पनि सङ्कोच मान्दिनन् । कवितामा पोखिंदा  एक प्रकारले सुधबुध नै गुमाउँछिन् शशी । आफ्नो भौतिक अस्तित्वलाई बिल्कुलै बिर्सेर हृदयभित्रको अनुभूति मात्र बाँकी रहेको तुरीय अवस्थामा झैँ प्रतीत हुन्छिन् उनी । उनमा भाव, स्फुरण,  तरङ्ग, आवेग, वेदना र विद्रोहको ज्वाला छ । किताबको भूमिकामा प्रयोग भएका उनकै शब्दमा ‘पद र पैसाको लालचमा परेर सुन्दर देशलाई जर्जर बनाउने’ नेताहरूमाथि पनि उनको मार्मिक चिच्च्याहट देखिन्छ । 

शशी कविताको पुर्पक्ष लाउन बिछट्ट पोख्त छिन् । कवितालाई कतै सुन्दर मजेत्रो ओडाएर लजालु राख्छिन् भने कतै सर्वाङ्ग निरावरण । कहिले फकाएर, कहिले हपारेर र कहिले मिठो कटारीले मर्ममा प्रहार गरेर मनको तरङ्गलाई भावमय चेतनाको लेप लगाउँछिन् उनी । उनी मनुष्य जीवनका उकाली ओरालीप्रति सचेत छिन् । शशीमा यो चराचर जगतका सुखदायी र दुस्खदायी कुराको  गहिरो चेत छ । 

कतिपय मानसिक भावहरूलाई समाजमा चलेको भाषामा अभिव्यक्त गर्नै मिल्दैन । आफ्ना कतिपय रहरहरू, आफूले पाएका कहरहरू, सहनु परेका विभेद र वञ्चनाहरू एवं कसैप्रति लागेर आउने घृणालाई अमूर्त तवरले अभिव्यक्त गर्न बडो  मजाको माध्यम रहेछ कविता । कतिपय लालसाहरू,  अपेक्षाहरू र आकांक्षाका रागहरू पनि घुमाउरो पारामा भन्ने माध्यम रहेछ कविता । शशीले कविताको माध्यमले आफ्ना सारा राग, अनुराग, विद्रोह, करुणा, विनय, विक्षेप र विह्वलतालाई बडो कुशाग्रताका साथ पोखेकी छन् । उनको खुलापन बहुतै निर्मल र इमान्दार देखिन्छ । 

शशीको त नामै कविता जस्तो छ । शशी अर्थात चन्द्रमा । सच्चा कवि जुनेली रातको छटा देखेर ‘लुनाटिक’ हुन्छ रे । शशीको माइतीतर्फको वातावरण नै साहित्यमय छ । घरमा पनि पति मात्र होइन, छोरीसमेत साहित्यकी प्रशंसक भएपछि के चाहियो ? शशी कविता लेख्दै च्यातेर फाल्दै गर्थिन् रे । एक दिन पति गम्भीरले शशीको कविता देखेर भन्नुभयो रे, ‘अबदेखि कहिल्यै नच्यात्नू  । सबैसँग यस्तो खुबी कहाँ हुन्छ र रु’  छोरी सिन्धियाले त ‘सर्वश्रेष्ठ मेरी मम्मी श्रेष्ठ’  शीर्षकमा पुस्तकको भूमिका नै लेखेकी छन् । 

शशीले यी कविताहरूमा जीवनको आधारशिलाको खोज गरेकी छन् । आफ्नो सेरोफेरोमा व्याप्त अन्याय, उत्पीडन र अन्धकार देखेर विह्वल हुन्छ उनको कवि हृदय । न नालिस दिने ठाउँ छ न त गुनासो सुनाउन लायक कुनै पात्र नै ।  अनि कवितामा वक्र  भाषाको सहारा नलिएर के गर्ने ? सर्वत्र अन्धकार छ, उज्यालोको कुनै छाँटछान्द  छैन । अनि कवि  विकल भएर शब्दका वाण नबर्साओस् त के गरोस् ?

‘आमा’  शीर्षक कवितामा कवि शशी अर्को जुनी लिएकी आमालाई एउटा स्वर्गीय बगैंचामा देख्छिन् । मस्तसँग बसेर किताब पढ्दै छिन् आमा । सायद जन्म जन्मान्तरसम्म अर्कैका लागि बाँचेर थकित र गलित भएकी आमा यो जुनी आफ्नै लागि जिउन चाहन्छिन् । शशीकी आमासँग मैले मेरी आमा पनि देखें । यस्तो लाग्दथ्यो, एकाकार भएका आमा र आमाहरू पूर्वजन्मका दुस्ख र यो जन्ममा आफ्नै लागि बाँच्दाका खुसीहरूबिच तुलना गरिरहेका थिए । 

सरुभक्तिकी आदिमाता भनौं 
ध्रुवचन्द्रकी लाली 
सुन्दरताले धपक्कै बलेकी उहाँ 
भन्दै हुनुहुन्थ्यो 
यो जुनी म मेरै लागि बाँच्नेछु 

‘सुइना’ शीर्षकको रुमानी कवितामा शशी सुगन्धी बनेर पोखिन पुग्छिन् । त्यहाँ उनी पाठकलाई रोमहर्ष गराउँदै लेख्छिन् -

वाइनको महकसँगै 
उसका  सेक्सिला गफहरू 
वर्षौं वर्षदेखि सुनिरहें

सुइना अर्थात सपना । रोमाञ्चक मदिरामय मादक सपना । यहाँ कतिले डरलाग्दा सपना देखेर रात गुजार्छन् । किन्तु शशी त शशी न परिन् । उनी रजनीलाई आफ्नो मन्द प्रकाशको पियूष छरेर शुक्ल पक्षकी चाँदनी झैँ अक्षरमा उदाउँछिन् । 

‘साहुको ऋण’ कविता शशीले नलेखेको भए बेस हुने थियो । लेखे पनि हृदयको कोमल तन्तुलाई विदारण गर्ने यस्ता शब्द प्रयोग गर्न हुन्नथ्यो । लेख्छिन्- 

वर्षौं बितिसके 
सयौं ढाकर सामान ओसारिसकें
त्यो ऋण वर्षहरुझैँ बढेको बढ्यै छ 
मिटर ब्याजी साहुहरूबाट पीडित चिथरा पहिरेका अकिञ्चनहरूको जुलुसभन्दा विदारक लाग्छन् यी तीन हरफ । 

शशीलाई मेलम्चीले पनि निकै चिमोट्दो रहेछ । लेख्छिन् -

मेलम्ची, 
के मेरो यस्तो अवस्था देख्दा 
तिमीलाई दुस्ख लाग्दैन ?
केही त बोल प्रिय 
के म जीवनभर तिम्रै नाम पुकारिरहुँ ? 
यतिका मान्छेहरू अटाएको ठाउँमा 
मेरो मेलम्ची मात्र छैन 
शशी आफू मेलम्चीकी प्रिया बन्दै उसको आहुती गर्छिन् । प्रेमी मेलम्ची भने निर्मोही छ ।आउनै मान्दैन 

‘नारी र पुरुष’ शीर्षक कवितामा उनी लेख्छिन् - 

निश्चल र अबोध प्राणमा उसले 
रूप रङ र आकार भरिदियो 
एक दिन बिस्तारै 
त्यो भिल्लले मेरो जीवनमा 
पर्खाल लगायो 
पुरुषत्वको पर्खाल 
उसको उत्तराधिकारी उर्फ सानो भिल्ल 
बाबुको सिको गर्दै 
नयाँ पर्खालको इँटा बनाउँदै छ 
अवर्णनीय लेखाइ हो यो । चार हरफमा पुरुषप्रधान इतिहासको समग्र इतिवृत्त अटाएको छ यहाँ । 
‘भद्र मान्छे’ कवितामा शशी यसरी पोखिन्छिन् - 

ऊ प्रत्येक दिनसँगै बिउँझन्छ 
हरेक रातसँगै मर्छ 
इच्छा र अनिच्छाको द्वन्द्वमा 
अलिकति बाँच्छ र धेरै मर्छ 
यताउता हेर्दै 
व्यक्तिगत सुखको परिभाषा खोज्छ 

शशीको चेतना उच्च छ । त्यही भएर नै उनको कवित्व पनि उच्च छ । वास्तवमा देवता के हो रु ईश्वर को हो ? के ईश्वर एउटा ढुङ्गा माटोले निर्मित देवालयको बन्दी हो ? कि ईश्वर अरु केही हो ? भ्रम शीर्षक दिएर उनी लेख्छिन् - 

तर 
देवताहरू ढुङ्गा होइनन् 
आहा ! 
कस्तो मिठो भ्रम 
हामी यही भ्रममा छौं 
रहिरहने छौं 
सधैभरि 

कतैकतै त शशीको मसी बडो कडिकडाउ भएर पोखिन्छ । उनी मनको तीव्र  तिक्तता छताछुल्ल पारेर हलुङ्गो हुन्छिन् । नारीलाई भोगको वस्तु मानेर बजारमा पुर्‍याउने समाजको बीभत्स कथा हो ‘त्यो एक रात अहो !’ कविता । उनी बोल्छिन् - 

त्यै बेला 
पर कुनाबाट एक हुल स्वास्नीमान्छेहरू चिच्याए 
‘कसैलाई  श्रवणकुमार चाहिएको छ ?’ 
आऊ !
यहाँ धेरै पाठेघरहरू खाली छन् 
तिमीले छानेर वीर्य भर्न सक्छौ 

शशीको कमलो  कवि हृदय अन्य असुविधाबाट मात्र होइन, मिचाहा स्वभावका छिमेकीबाट पनि घायल छ । त्यो छिमेकी टोलको होस् या देशको, दर्द त उही नै हो । सायद उनको शालीनताले कसैसँग पनि सम्मुख भएर कलह गर्न प्रतिबन्ध लगायो होला  । कवि हुन्, आक्रोश पोख्न उनीसँग कलमको कला  छ । उनी आफूले व्यहोरेको दर्दलाई कविता बनाएर पोख्छिन् । भलै उनको चित्त दुखाउनेले यो कविता नपढोस्, किन्तु यति भारी बिसाएपछि शशीको कवि हृदयको स्पन्दन त स्वस्थ हुन्छ नि । उनी लेख्छिन् -
 

हो, मलाई आजकल जताततै 
धारामा पानी नआउँदा दुख्छ
मेलम्ची सम्झेर दुख्छ 
दुष्ट छिमेकी सम्झेर दुख्छ 

‘ओ प्रिय कवि’  शीर्षक दिएर उनी अर्को विरह पोख्दै लेख्छिन् -

 समय बुढो भइसक्यो
आजकल ऊ कोमामा छ 
त्यसैले 
अब तिमी केही लेख 
तिम्रा हरफहरू पढेर म 
दन्दनी बलेको चितालाई 
आफ्नो घरको चुल्हो देख्न सकूँ  
अहो कवित्वको यो उग्रता ! यो कविता पढ्दा मेरो अन्तस् भयभीत भएको छ 
 । 

‘त्यो भर्जिन कविता’मा शशी तमाम नारीहरूले आफ्नो प्रतिनिधि बनाएर पठाएकी विस्फोट पो हुन् कि जस्तो लाग्यो । नारी चेतनाको बिगुल फुकेर विद्रोहको स्वर फैलाउन उनीसँग शब्दको निर्मम कुठार छ । उनी लेख्छिन् -

उसले एक दिन कविता लेखी 
लोग्ने मान्छेको हाट बजारमा 
ठिङ्ग उभिएर सुनाउन थाली 
.....................................

 प्रेमीसँगको चुम्बन
प्रियले निल्दै ओकल्दै गरेका अङ्गहरू 
आफ्नो पाठेघरमा सिंचित गरेका 
वीर्यका थोपाहरू 
र यौनाङ्गदेखि बाहिर आएका 
दुई चार सन्तानहरू 
यी सबै मेरा लागि 
भर्जिनिटीका सिम्बोल हुन् 

शशी बाँकटे हान्न पनि बडो निपुण छिन् ।
सायद  उनले  ‘ऊ र उसको वाइन ग्लास’  मा कोविड महामारीमा दूरीमा बस्नुपर्ने समयको प्रसङ्गलाई लिएर घोचपेच गरेकी होलिन् ।  शब्दहरू सहज बोधगम्य भए भने अश्लील प्रतीत  हुन्छन् । तिनै शब्दमा कवित्वको मुलम्मा चढाएपछि शालीन कहलिन्छ, सुललित साहित्य कहलिन्छ । उनी निकै मधुर भावमा एउटा सिद्धहस्त रसज्ञ झैँ पोखिन्छिन् -

प्रत्येक चुस्कीहरूमा तिमीसँग 
अलिकति बाँकी जीवन घुल्न आतुर छु 
आखिर 
तिमी मात्र सङ्क्रमित हुँदैनौ भने ......
आज तिमी रमरम मातेको बेला 
म तिमीलाई 
जिन्दगीको अन्तिम कथा देखाउन 
लानेछु टाढा ग्रेभयार्डतिर 


 

प्रतिक्रिया