ओझेलमा परेका क्रिकेटर

 नम्बरी क्रिकेटर बन्न चाहन्थे शशांक

काठमाडौं । आशा गरिने गथ्र्यो, नेत्र चिकित्सक शशांक कोइरालाले कुनै दिन नेपाली कांग्रेसको नेतृत्व गर्नेछन् । तर पछिल्ला दिनहरुमा यतातिर बढ्ने उनको रुचि देखिएन बरु उदासिनताको बादले ढाकिँदै अनिर्णयको बन्दी बनेका देखिए उनी । १४औं महाधिवेशनको पूर्व सन्ध्यासम्म शशांक सभापति पदका प्रत्याशी हुने चर्चा चलिरहेको थियो, उनैले आफ्नो प्रचार यसरी नै गरिरहेका थिए । निर्वाचनको मैदानमा उत्रिने बेलामा भने शशांक शुभेच्छुलाई समेत स्तव्ध पार्दै प्रतिष्पर्धाबाट अलग बसिदिए । उनको यस्तो निर्णयलाई धेरैले अनपेक्षित कदम भनेर आलोचना पनि गरे। कतिपयको नजरमा उनको यस्तो निर्णय आत्मविश्वासको कमी देखियो । नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाका कनिष्ठ पुत्र शशांकलाई आफ्नो पार्टीको शीर्ष स्थानमा देख्न चाहने धेरै नेता कार्यकर्तालाई निराश पारेको गुनासो भने  उनको शीरमा परेको छ ।

क्रिकेटका राम्रा खेलाडी शशांकले राष्ट्रिय राजनीतिमा भने न चौका हाने न त छक्का नै । विद्यार्थी जीवनमा दार्जिलिङ्गको नर्थपोईन्ट कलेजमा अध्ययन गर्दा उनले क्रिकेटबाहेक हक्की, फुटबल, टेबलटेनिस र स्वीमिङ्गमा पनि प्रतिष्पर्धा गरेका थिए । तर कांग्रेसको महामन्त्री पदमा रहँदा उनले स्पोर्टसम्यानसीप नदेखाएको गुनासो छ ।

उता पिता वीपी कोइराला यस्ता प्रतिभा थिए, जसलाई तत्कालीन सत्ताले सास फेर्न हावा बाहेक सबैथोक रोकछेक गर्दा पनि उनले साहित्यमार्फत आफ्नो प्रतिभा प्रकट गरे । वीपी एकजना औंलामा गन्न सकिने उदाहरणीय पात्र हुन् । कमोवेश अरुमा पनि यस्ता प्रतिभा हुनसक्छन् । तर ती प्रकाशमा आउन नपाएर होला आममानिसले उनका बारेमा पर्याप्त जानकारी पाएका छैनन् । उनीहरुको राजनीतिक व्यक्तित्वमा छिपेको कला र प्रतिभा जनसमक्ष आउनु पर्छ ।

यतिबेला यहाँ चर्चा गरिएका राजनीतिका पात्र कांग्रेसका निवर्तमान महामन्त्री शशांक कोइराला किन वीपीको उत्तराधिकारी हुन अग्रसर भएनन् भन्ने हो । शशांकको परिचयका लागि अरु कुनै विशेषण आवश्यक थिएन । उनीसँग नेपाली राजनीतिका शिखर व्यक्तित्व वीपीको पहिचान साथमा थियो ।  कुनैबेलाका अलराउन्डर खेलाडी उनी राजनीतिमा किन उदासिन भए भन्ने पनि चर्चा चलिनै रहेको छ । आफ्नो साथमा रहेको ब्राण्डको वजन अनुसार नेतृत्व लिन असमर्थ देखिएका शशांकको भावी राजनीति करिअर कस्तो हुने हो त्यो त उनकै निर्णयमा निर्भर रहने भयो ।

कांग्रेसको महाधिवेशनबाट उदाएको नयाँ पुस्ताले पुराना नेतालाई विश्रामस्थतिर सार्दै लाने प्रष्ट देखिएकाले अब नयाँकै पकडमा कांग्रेस संगठन सञ्चालन हुने स्पष्ट भएको छ । महामन्त्री पदमा बहाल रहेका बेला शशांकले आफ्नो विद्यार्थी जीवनको लगावबारे चर्चा गरेका थिए । आज पार्टीको नेतृत्वपंक्तिबाट बाहिर परेका उनको त्यो खेल प्रसंग सान्दर्भिक हुने भएकाले परिमार्जन सहित पुनप्रकाशन गरिएको छ । आशा छ पाठकले यसलाई रुचिपूर्वक पढ्नुहुने छ ।

स्वीमिङ्गका त क्याप्टेन

कुनैबेला शशांक स्वीमिङ्गका त क्याप्टेन नै थिए । शशांकले कुनैबेला क्रिकेटको नामी खेलाडी बन्ने सपना मनमा साँचेको रहस्य खोल्दै भनेका थिए– ‘म क्रिकेट खेलाडी बन्ने सोचमा थिएँ, मेडिकल लाईनमा पसेपछि बाटो अर्कैतिर मोडियो ।’ उनले आफ्नो खेलाडी व्यक्तित्व अझ खुलाउँदै भनेका थिए–‘म क्रिकेट, हक्की, फुटबल पनि खेल्थें । बिद्यार्थी समयमा म स्वीमिङको क्याप्टेन नै थिए नि । एकताका त आफ्नो क्यारियर नै खेलकूदमा लगाउँ भन्ने पनि सोचेको थिएँ तर मेडिकल लाइनमा गइसकेपछि सबै भताभुङ्ग  भयो ! 

अलरान्डर खेलाडी

हो त नि, म राम्रो खेलाडी हूँ नि त्यतिबेलाको हाम्रो स्कूलमा । म अलरान्डर खेलाडी थिएँ आफ्नो समयमा तर पछि आएर पढाईको बिषय अर्कै भएपछि खेलकूदले निरन्तरता पाउन सकेन ।

‘क्रिकेट प्रेमी थिएँ’

मेरो क्रिकेट र फुटबलमा बढी रुची थियो । स्वीमिङमा त म क्याप्टेन नै थिएँ । हरेक खेलमा मलाई रुची थियो । म टेबलटेनिस पनि खेल्थें, व्याटमिन्टन पनि खेल्थें ।

सेन्चुरी खेलाडी

हो त, मैले धेरै नै मेडलहरु जितेको छु । स्कूल र कलेज दुबैमा मेडलहरु पाएको छु। बुझ्नुभयो, त्यतिबेला हाम्रो स्कूलमा सेन्चुरी हान्ने मान्छेलाई व्याट दिन्थे । मैले व्याट पनि पाएँ।

खेलकूदको प्रचूर सम्भावना

हेर्नोस, देश बिकासमा खेलकूदको अत्यन्त ठूलो योगदान रहन्छ र उच्च महत्व छ। त्यसैले खेलकूदलाई हामीले उच्च प्रथामिकता दिनुपर्छ । हाम्रो देश नेपालमा फुटबल, क्रिकेट, टेबलटेनिस, मार्सलआर्ट र भलिवलमा सीप भएका युवाहरु धेरै  छन् । धेरै राम्रो संभावना छ हाम्रो युवा शक्तिमा । खेलकूदमा हेर्नुभो भने ६० प्रतिशत जनशक्ति भनेको ४० वर्ष भन्दा मुनिका छन् । उनीहरुको अभिरुची पनि खेलकूदमा नै धेरै देखिन्छ । हामीले उच्च प्राथमिकताकासाथ खेलकूदलाई अगाडि बढाउनुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ । यसमा म आफूले गर्नसक्ने योगदान गर्न हमेसा तत्पर रहन्छु ।

अविष्मरणीय घटना

त्यस्ता घटनाहरु धेरै छन् । अहिले सबै चर्चा गर्न नसकिएला । अब त्यो बेलाको क्रिकेट कै कुरा गरुँ । त्यसबेला क्रिकेटमा रामनाथ नाम गरेका एकजना भारतका ओपनिङ व्याट्सम्यान थिए । उनी हाम्रो स्कूलमा कोच थिए । उनले हामीलाई क्रिकेट खेल्न सिकाएका हुन् । नेटमा सिकाउने बेलामा उनले हामीलाई फास्ट बलरहरुलाई कसरी सामना गर्नुपर्छ र स्पिन बलिङलाई कसरी सामना गर्नुपर्छ भन्ने तरिकाहरु सिकाएका थिए, जुन कुरा अहिले पनि मलाई ताजा सम्झना छ । त्यतिबेला म ओपन गर्थें । स्कूलको लागि म ओपनिङ व्याट्सम्यान थिएँ र बलमा पनि म सेकेन्ड बलर थिएँ । उनकै टे«निङमा म क्रिकेट खेल्थें । क्रिकेट खेल्दाखेल्दै त्योबेला मलाई त कस्तो लाग्यो भने अब क्रिकेटलाई नै आफ्नो पेशा बनाउँ । मलाई खेलप्रति गहिरो रुची थियो, खासगरी क्रिकेटमा । तर त्यो हुन सकेन, अब मेडिकल लाइनमा लागिसकेपछि पढ्न धेरै मेहनत गर्नुपर्छ । समय पुगेन अनि रुची हुँदाहुँदै पनि मैले स्पोर्ट्स चाहिँ छोडिदिएँ । 

खेलकूद क्षेत्रलाई विवादरहित बनाएर प्रोफेसनल मानिसहरुलाई अग्रसर गराएर खेलको नियमित गतिविधि गराउनुपर्छ भन्ने बारेमा मैले सोचिरहेकै छु । खासगरी सरकारले नै यसलाई प्राथमिकताको दिएर अगाडि बढाउनु पर्छ । खेलकूदको बिकासका अवधारणाहरु छन् । सर्वप्रथम त सरकारले नै यसलाई प्राथमिकताका साथ अगाडि बढायो भने मात्र अरु सम्बन्धित निकाय पनि क्रियाशील हुन्छन् । अर्को कुरा, जस्तो तपाईंले भन्नुभयो, धेरै खेलकूदका संस्थाहरु छन् उनीहरुलाई पनि प्रोत्साहन गर्नुपर्यो । सरकारले उनीहरुलाई टाढा राख्ने नै होईन, पार्टनरसिपमा आउ, खेलको बिकासमा सहकार्य गरौं भनेर आमन्त्रण गर्नुपर्छ । स्थानीय क्लब र खेल क्षेत्रका संघसंस्थासँग सरकारले नै सहकार्यको हात बढाउनुपर्छ ।

पहाडी जिल्लामा जानुभयो भने त्यहाँका युवाहरु यति धेरै फुटबल र भलिबल खेल्छन्, तर त्यहाँ व्यवस्थित खेल्ने ग्राउन्ड नै छैन । अब त्यस्ता जिल्लामा फुटबल र भलिबललाई उपयुक्त सुविधा दिएर प्रोत्साहन गर्नुपर्यो । उनीहरुलाई आवश्यक सामग्री जस्तै नेट, बलहरु दिनुपर्यो, अझ सबभन्दा महत्वपूर्ण कुरा त खेल्ने मैदान नै दिनुपर्यो नि । त्यो किसिमको उनीहरुलाई मौका पनि दिनु पर्यो । म त के भन्छु भने सरकारले खेलाडीहरुलाई उनीहरुको पठनपाठनमा छात्रवृत्ती अनिवार्य रुपमा दिनुपर्यो, जसले गर्दा उनीहरुले खेलमा समय दिँदादिँदै त्यही समयमा उनीहरुको उच्च शिक्षा पूरा हुनसकोस् । जीवन नै खेलमा समर्पित गरिरहेका खेलाडी छन् भने उनीहरुको जागिरमा पनि प्रथामिकता दिनुपर्यो । यसकिसिमको वातावरण सिर्जना गरियो भने मलाई लाग्छ नेपालमा खेलकूदले धेरै राम्रो ठाउँ लिन्छ। भविष्य अत्यन्त सुन्दर देख्छु म ।

अब क्रिकेट एकेडमी चाहिन्छ, खेलाडीले सबै प्रतियोगिता जितेर कप ल्याईदिउन् भन्ने चाहना राख्ने हो भने उनीहरुलाई अत्यावश्यक सुविधा पनि दिनुपर्यो । अहिले देशभरी स्थानीय क्लबहरुले स्थानीय साधन स्रोतको भरमा नियमितजस्तो फुटबल प्रतियोगिताहरु आयोजना गरिरहेका छन् । नियमितजसो समाचारहरु आईरहेका छन् । यस्ता जिल्लाहरुमा सरकारले अत्यावश्यक खासगरी पूर्वाधार बिकासमा चाँडोभन्दा चाँडो काम गर्नुपर्छ ।

अब मेरै निर्वाचन क्षेत्र नवलपरासीमा मैले एउटा अन्तर्राष्ट्रिय स्तरको खेलकूद मैदान बनाउँछु भनेर एउटा अवधारणा लिएको    छु । त्यहाँ पाँच बिगाह जति जमिन पनि छ । त्यसलाई पनि अब अगाडि बढाउने योजना छ । मेरो बिचारमा यसैगरी सबै प्रदेशहरुमा आधुनिक सुविधायुक्त स्टेडियमहरु स्थापना गर्नुपर्छ, जसले गर्दा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु हाम्रै देशमा आयोजना गर्न सकियोस्, जुन कुरा संभव छ । म यस बिषयमा सम्बन्धित निकायहरुसँग छलफल गर्छु र खेलकूदलाई उच्च प्राथमिकतामा राखेर समाजमा नयाँ किसिमको सकारात्मक तरंग सिर्जना गरेर युवाहरुलाई जागरुक गराउनुपर्छ भन्ने बारेमा सरकारको ध्यानाकर्षण गराउँछु ।

दलहरुले खेलकूदलाई उच्च प्राचमिकता दिनैपर्छ । हाम्रो पार्टी नेपाली कांग्रेसले खेलकूदलाई कम मूल्यांकन गरेको छैन । काम गरेर देखाउनुपर्छ नि सबैले । कामै नगरी घोषणापत्रमा राखेरमात्र त उन्नती हुनसक्दैन नि । हामीले इतिहासबाट पनि पाठ सिक्नुपर्छ, उसबेलाको समयमा पनि बीपी कोइरालाले ‘किङ ११ भर्सेस प्राइम मिनिस्टर ११’ भनेर पहिलोपल्ट फुटबल म्याच गराउनु भएको थियो । त्यसमा बीपी आफैं खेल्नुभएको थियो । त्योबेलादेखि खेलकूदले एउटा गति लिनुपर्ने थियो तर यति धेरै समय बितिसक्दा पनि  त्यस्तो उल्लेखनीय गति लिन सकेको छैन । यसमा सरकारले ध्यान पुर्याउनुपर्छ । हामी जस्ता व्यक्तिहरुले प्रोत्साहन गर्नुपर्छ भन्ने मेरो धारणा हो।

 

 
 

प्रतिक्रिया