-विश्वप्रकाश शर्मा
विश्वप्रकाश शर्मा नेपाली कांग्रेसको नवनिर्वाचित महामन्त्री हुन् । १४औं महाधिवेशनबाट उनी र गगन थापा महामन्त्री चुनिएका हुन् । शर्माले महाधिवेशन लक्षित गरेर केही राजनीतिक एजेण्डा सार्वजनिक गरेका थिए । उनी महामन्त्री पदमा चुनिएका छन् । अब ती एजेण्डा कार्यान्वयन गर्ने जिम्मेवारीमा आफैं पदासिन भएका शर्माले कसरी व्यवहारमा उतार्नेछन् भनेर महाधिवेशन प्रतिनिधिले अवश्य पनि नजर लगाई नै रहने छन् ।
यस्ता थिए विश्वप्रकाशका राजनीतिक एजेण्डा-
लोकतन्त्र स्थायित्व र समृद्धि दायित्वलाई सार्थक गति प्रदान गर्न, नेपाली कांग्रेस लगायत सबै दलको रुपान्तरण र आधुनिकीकरण जरुरी छ । कुनै पनि राजनैतिक दलको महाधिवेशन या सम्मेलन आफै ऐतिहासिक बन्दैन । नेतृत्व चयन महाधिवेशनको नियमित जिम्मेवारी मात्र हो ।
दुरगामि दृष्टियुक्त दस्तावेज तय गर्ने अधिवेशन, सम्मेलन या भेलालाई ऐतिहासिक भनेर उपमा दिइन्छ र त्यो तार्किक हुन्छ । विसं २००७ को क्रान्ति घोषणा, समाजवादको लक्ष्य लिने निर्णय, पंचायति व्यवस्थाविरुद्ध निर्णायक आन्दोलनको उद्घोष, गणतन्त्रतर्फ अघि बढ्न संवैधानिक राजसंस्था पार्टीको विधानबाट हटाउने निर्णय यस्ता युगान्तकारी कदम हुन््, जसले नेपाली कांग्रेसका ति महाधिवेशन र महासमिति बैठकलाई ऐतिहासिक बनाए । १४ औं महाधिवेशनले त्यस्तै कुनै युगान्तकारी निर्णय लिनु त छैन तर यसलाई हामीले भिन्न ढंगले ऐतिहासिक बनाउनु छ ।
निति–कार्यक्रम निर्माण र नेतृत्व चयनको अधिवेशन अलग–अलग गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णयले निति–कार्यक्रम सम्बन्धि दृष्टिकोण निर्माणमा सम्पूर्ण रुपले केन्द्रित हुन १४ औं महाधिवेशनपछि हामीलाई अलग्गै मंच उपलब्ध हुँदैछ । तर त्यसबारे प्रारम्भिक छलफल भने महाधिवेशन क्रममै हामीले गर्नुछ ।
आजको समय, समाज, बढेका चुनौती, बदलिँदो मनोबिज्ञान, हामी उपरका प्रश्न, निराशा र आशा, हाम्रा अघिल्तिरका चुनौती अनि हामीसँग खोजिएको जवाफ र जिम्मेवारी यो समग्रलाई हामीले अत्यन्तै मिहिन ढंगले केलाउन, बुझ्न र आत्मसात गर्नुछ । त्यसलाई सम्बोधन र नेतृत्व गर्नसक्ने इच्छाशक्ति र संगठनको सुदृढ ‘कमाण्ड’ को विकास जरुरी छ । जननायक वीपी कोइरालाको अगुवाइमा स्थापना भएको राजनैतिक शक्ति नेपाली कांग्रेसलाई नविन ढंगले पुनर्गठित गरेर एक्काइसौं शताब्दीको नविन कांग्रेस निर्माण गर्ने अब बेला भएको छ । वीपीको सपना र आजका नेपाली युवाको सपनालाई एकाकार गरेर नविन सपनाको बाटोमा देशलाई लग्न तब हामी समर्थ हुनेछौं ।
रुपान्तरण: दल र देशमा
–दलहरुको रुपान्तरण र आधुनिकीकरणको नविन प्रारम्भ । (पाको र जेठो राजनैतिक दल कांग्रेसमा रुपान्तरणको जबर्जस्त मनोविज्ञानले अन्य सबै दलमा सकारात्मक प्रभाव पर्नेछ ।
–देश रुपान्तरण र आधुनिकीकरणको यात्रामा नितिगत सुनिश्चितताको नविन बन्दोबस्त । दलहरूमा रुपान्तरणको स्पस्ट प्रभाव दलहरूको घरेलु जीवन सँगै देश निर्माणको गति, निति र प्रवृत्तिमा देखिनुपर्छ ।
दल रुपान्तरणको अर्थ र खोजिने परिणाम
कुनैपनि राजनैतिक दलको रुपान्तरण खोजिंदा ९ पाटोमा परिणाम खोज्नुपर्ने हुन्छ ।
–दल र दलका भातृ र शुभेच्छुक संस्थाहरुको घरेलु जीवनको परिमार्जित व्यवस्थापन ।
–दलभित्र योगदान र योग्यताको उचित सन्तुलन ।
–नेपाली समाजको बनोट अनुरुपको चित्र नेतृत्वमा प्रतिबिम्बित हुने स्थिति र निर्णय प्रक्रियामा स्वामित्व बोधको वातावरण ।
–दलले लिने निति र हिंड्ने बाटोमा अग्रगमनको निस्चितता ।
–समाजमा अघि आउने तत्कालीन मुद्दाहरुमा दलको जिम्मेवार प्रस्तुति ।
–क्षणिक लोकप्रियता र सस्तो राजनीतिको भड्काउबाट मुक्त ।
–हरेक तहको नेतृत्व र सदस्यलाई सिद्धान्तको दृष्टिले प्रतिबद्ध, आयको दृष्टिले स्वावलम्बि र पारदर्शी अनि पारिवारिक जीवनमा जिम्मेवार बनाउने प्रेरणा ।
–दल र दल संलग्न कुनैपनि तहको सरकारको ‘सर्भिस डेलिभरि’ को क्षमतामा बढोत्तरि ।
–प्रेसको स्वस्थ आलोचना सहज ग्रहण गर्ने, परिमार्जित हुने र समग्रमा ‘मिडिया मैत्री’ बन्ने सहजतामा बृद्धि ।
निर्वाचनमा दलहरूले एक–अर्को माथि विजय हासिल गर्न जोड गर्नु लोकतन्त्रमा सामान्य र स्वभाविक बिषय हो। तर दलहरूले आफ्नो कमजोरीमाथि विजय हासिल गर्ने भिन्न प्रकृतिको जोड र प्रतिस्पर्धा अब भिन्न ढंगले चल्नु पर्छ । समय र समाजलाई बुझ्ने र नेतृत्व गर्ने सवालमा दलहरूको प्रतिस्पर्धात्मक प्रस्तुति जरुरी छ ।
दलहरूको रुपान्तरण अपेक्षित गतिमा नभएकै कारण कतिपयले निर्वाचनमा ‘खराब मध्येको कम खराब’ लाई छान्ने अभिव्यक्ति दिने गर्दछन् । ‘राम्रो मध्येको बढि राम्रो’ दललाई जनताले छान्न पाउने परिस्थितिको निर्माण गर्न दलहरू विच रुपान्तरणको प्रतिस्पर्धात्मक जोड चलोस् भन्ने जन अपेक्षा देखिन्छ ।
‘१४ औं महाधिवेशन र त्यसपछिको कांग्रेसले’ आफ्नो नेतृत्वमा निर्माण भएको संविधानको दृढ स्वामित्व साथ नेपाली कांग्रेसले देशलाई दृढ ढंगले भन्नुपर्छ, ‘आजको राजनैतिक व्यवस्था ठिक छ, तर अनेक अव्यवस्थाहरु जो छन् तिनलाई अन्त्य गर्न साझा सोच र संगठित पहल गरौं’ ।
संविधानप्रति विमति राखिरहेका दल, समुह र समुदायको भावना अधिकतम सम्बोधन गर्दै नेपाली कांग्रेसले यसप्रति अपनत्वको दायरा विस्तार गर्नुछ ।
‘देशलाई सहि विचारको नेतृत्व, विचारलाई सहि राजनीतिको नेतृत्व, राजनीतिलाई सक्षम र स्वच्छ छविको नेतृत्व अनि विकास परियोजनाहरुलाई गलत राजनैतिक नियतको द्वन्द्वबाट मुक्त’ यो उच्चतम सोच र भावनालाई कांग्रेसले सम्बोधन र नेतृत्व गर्नुछ ।
देश बनाउने यात्रामा हासिल उपलब्धि जगेर्ना गर्दै, कमजोरी पहिचान गर्नुछ अनि नयाँ आशा र नयाँ विश्वासमा देशलाई गांस्ने संकल्प र नविन खाका कांग्रेसले प्रस्ताव गर्नुछ ।
नेपाल बाहिरपनि एउटा अलग नेपाल छ, जो सँग नेपाली भावना छ तर नेपाली भूगोल छैन । लाखौंको संख्यामा देश बाहिर रहेका ति नेपालीको सिप, धन र मनलाई नेपालको समृद्धि यात्रामा एकाकार गर्न नेपाली कांग्रेसले भावनात्मक उर्जा मिश्रीत बिशेष कार्य योजनाको परिकल्पना, निर्माण र कार्यान्वयन गर्नुछ ।
समृद्धिको सुचक गगनचुम्बि टावरहरु होइनन्, नागरिकको प्रतिब्यक्ति आय, मानव विकासको वर्गिकृत सूचकहरुमा संतोषजनक प्रगति र समग्रमा नागरिकको खुसिको मात्रा र गति हो भन्ने तथ्य निर्विवाद छ । ‘अबको जिम्मेवारी युवा रोजगारी’ भन्ने दृढतालाई नेपाली कांग्रेसले परिणाममुखि ढंगले अघि बढाउनु छ ताकि एउटा निस्चित कालसम्म मुलुकको बाध्यात्मक परिस्थितिका कारण रोजगारीका लागि विदेशिनु परेको युवाको परिवारको अर्को पुस्ताले विवशताको आँशु पिउँदै खाडि तर्फ उड्नु नपरोस्।
राजनीति भन्दा बाहिर हजारौं यस्ता युवा छन् जो ।।।देशका लागि केहि गर्न’ चाहन्छन्, तर हाम्रो राजनीतिप्रति तिनमा वितृष्णा छ । त्यसैले कांग्रेस महाधिवेशन र महाधिवेशन पछिको कांग्रेसले ‘हिजो राजनैतिक परिवर्तन अब राजनीतिमा परिवर्तन’ भन्ने दृढ उद्घोष साथ राजनीतिप्रति बढेको वितृष्णा अन्त्य गर्ने र देश निर्माणमा युवा पुस्ताको विश्वास र कृयाशिलतालाई घनिष्ठसँग गांस्ने पहलकदमि लिनुछ ।
वितेको ७० बर्षमा कुनै एकमात्रपनि प्रधानमन्त्रीले लगातार ५ बर्ष सरकार चलाउन नसकेको अस्थिरता देशमा छ । यस्तो किन र कहिलेसम्म ? यसको कारण र निराकरणको सुत्र खोज्ने कर्म गहन दृष्टि साथ कांग्रेसले नै सम्पादन गर्नुछ ।
अबको बाटो सामाजिक रुपान्तरणको पाटो
सामाजिक विसंगतिका अनेक घटनाले हाम्रो समाजको सुन्दर अनुहारमा पटकपटक दाग लागेको छ । फरक विसंगतिका फरक कारण अनि कतिपय विसंगतिका साझा कारणहरुको जालो र जरोको ‘गम्भीर डाइग्नोसिस’ जरुरी छ । मनोवैज्ञानिक, आर्थिक, परम्परागत, शैक्षिक, राजनैतिक र प्रशासनिक अनेक कारण छन्, जसको समाधानका लागि देशले संगठित प्रयत्न गर्न जरुरी छ र कांग्रेस लगायतका दलहरुले त्यसमा अग्रसरता लिनुछ ।
‘समाज रुपान्तरणका लागि मानवीय संवेदना वृहत् रूपमा जागृत गर्ने साझा अभियान’ अनिवार्य भएको छ । सर्वदलीय संकल्पसाथ यसलाई अघि बढाउन फरक प्रस्तावना जरुरी छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनले यो बिषयलाई गम्भीर आत्मसात गर्नुछ र एक्यवद्ध ढंगले अघि बढ्न अपील गर्नुछ ।
सहि साध्य हासिल गर्न साधन सबल बनाऔं
माथि उल्लेखित बिषयहरुको सफल सम्पादन गर्न हामीले साध्यका लागी साधनको तन्दुरुस्ती निर्माण गर्नैपर्छ । नेपाली कांग्रेस, एउटा पुरानो राजनैतिक दलभित्र आफुलाई आधुनिक र नविन बनाउने मनोबिज्ञानको जबर्जस्त विकास महाधिवेशन मार्फत हामी गर्न सक्छौं । हामी बदलिन जरुरी छ भन्ने महसुस गरेर या बदलिन्छौं भनेर मात्र पुग्दैन, तदनुकुलको दृष्टि र कार्यक्रम निर्माण गरेर कार्यान्वयनमा हामी जुट्नु छ ।
दलहरुको रुपान्तरण; देश रुपान्तरणको अनिवार्य शर्त
लोकतन्त्रमा एउटा दलको विकल्प अर्को दल हुन्छ तर लोकतन्त्रको विकल्प भने लोकतन्त्रनै हुन्छ, अझ समुन्नत लोकतन्त्रको खोजी हुन्छ । राजनैतिक दलहरूको अगुवाइमा आजको लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली स्थापना भएको हो । देशमा रुपान्तरण गर्न सफल दलहरू आफैलाई रुपान्तरण गर्न भने कति सफल छन्? सार्वजनिक रूपमा उठेको यो प्रश्नलाई हामीले नकारात्मक रूपमा लिनुहुन्न, यसमा सबै दल गम्भीर बन्नुपर्छ ।
‘बदलिएको समय, बदलिएको समाज र निरन्तर बदलिने युवा मनोबिज्ञान’ ले दलहरूको आधुनिकीकरण खोजेको छ । दलहरू रुपान्तरित हुन सकेनन् भने त्यसको सोझो असर प्रणाली माथि पर्न जान्छ अनि समृद्धिको यात्रा र गतिलाई पनि असर गर्दछ र गरिरहेको छ । लामो संघर्षबाट स्थापित आजको व्यवस्थाको सफलताका लागि सारथि हुन्राजनैतिक दलहरू । तर समस्या यो छ कि सबै दलभित्र समस्या छ । पुराना दलमा मात्र होईन नयाँ खुलेका दलहरूपनि पुरानै प्रकृतिको समस्यामा गांजिएका देखिन्छन् ।
दलहरुका साझा समस्या
राजनैतिक दर्शन र पृष्ठभुमि भिन्न छ । कुनै दलको लामो इतिहास त कसैको स्थापना भर्खर भएको छ । तर रोचक के छ भने सबै दल एउटै प्रकृतिको ‘भेरिएन्ट’ ले ग्रसित छन् दलको निर्माण निस्चित सिद्धान्तको जगमा हुन्छ, तर सिद्धान्तमा आधारित संगठनको नितिलाईव्यवहारिकताको नियतिले वितेको डेढ दशक यता धेरै हदसम्म गिजोलेको छ ।
–हरेक दल भित्र ‘दल’ कमजोर हुंदै गएको स्थिति छ । संस्थागत निर्णय क्षमता कमजोर बन्दै जानु, निर्णय कार्यान्वयनमा साझा लगाव घट्दै जानु भनेको दलको संस्थागत ।।।अथोरिटि’ कमजोर बन्नु हो।
–‘विचार समुह’ हरु विचारले कम आग्रहले बढि परिचालित देखिन्छन् ।
–दल या आवद्ध भातृ या शुभेच्छुक संस्थाका आन्तरिक अधिवेशनहरु सहज अवतरण भन्दा चुनौतीपूर्ण बनेका देखिन्छन्।
–दलका सार्वजनिक कार्यक्रमहरु छरितो प्रकृतिका हुन सकेका छैनन्।
–हिजो संघर्षमा रगत बगाउन नहिच्किचाउने पार्टी सदस्य, पछिल्लो राजनीतिको चरणमा पसिना बगाउन समेत कि कम प्रेरित छ कि बगेको पसिना बापतको पदिय लाभ छोटो समयमै खोज्नेप्रवृत्ति झ्याङ्गिएको छ ।
–नेतृत्व पंक्तिमा संघर्षकालिन आत्मीय भाव सत्ताकालिन क्षणमा न्युन भएको यथार्थ एकातर्फ छ भने कतिपय दलमा प्रतिस्पर्धी नेतृत्वलाई असहिष्णु गालि र दुश्मनीकै व्यवहार भएको देख्नु÷सुन्नु परेको स्थितिले लज्जित बनाएको छ ।
दलहरु आधुनिक बन्न नसक्नुको दुश्परिणाम
समस्या हुनु, द्वन्द्व हुनु यद्यपि जीवन र जगतकै सनातन यथार्थ हो । तर हाम्रा दलहरू भित्र उहि प्रकृतिको समस्या सदैब हुने, समाधान हुँदा तदर्थ स्थितिको हुने अनि फेरि थप जटिल भएर उहि समस्या बल्झिने । घरेलु समस्यामा यसरि दलहरू बढि भन्दा बढि समय केन्द्रित रहनुपरेपछि यसले एकसाथ ४ वटा दुश्परिणाम देखिंदै आएको छ ।
–दलहरूको अधिकतम हुनसक्ने कार्यक्षमतालाई सोझो असर परेको छ ।
–दलहरू भित्रको घरायसी जटिलताको नकारात्मक प्रभाव सरकार, स्थानीय तह र संघसंस्था समेतमा पर्दै आएको छ ।
–राजनीतिप्रति वितृष्णा बढाउन दलहरूको निरन्तरको घरायसी द्वन्द्वले सघाएको छ ।
–साझा सरोकारको रास्ट्रीय बिषयहरुको साझा ढंगले नेतृत्व गर्ने या साझा मत बनाएर त्यसलाई तार्किक निष्कर्षमा पु¥याउन योगदान गर्ने बिषयलाई असर गरेको छ ।
दलहरूसँगको असन्तुष्टिको विकल्प दल विहिनता हुन सक्दैन
दल, नेतृत्व या अव्यवस्थाप्रतिको असन्तुष्टिलाई अतिरंजनापूर्ण व्याख्या गरेर कसैले पनि पुरानो अलोकतान्त्रिक शासन या अन्य कुनै दल विहिन या एकदलीय शासन प्रणालीको परिकल्पना गर्नुको कुनै अर्थ छैन । नेपाली कांग्रेस लगायतका आजका मुख्य दलहरू आजको समग्र उपलब्धिका नायक हुन्। यि उपलब्धिको रक्षा र जगेर्ना गर्न दलहरू फरकमतका विचमा पनि एकमत छन्।
रुपान्तरणमा अब भिन्न प्रतिस्पर्धा
राजनैतिक दलहरू बिच चुनाव जित्ने प्रतिस्पर्धा स्वभाविक हो । कतिपय बेला हामीले तिखा अभिव्यक्तिको प्रतिस्पर्धा पनि ग¥यौं । केहि पार्टीको उच्च नेतृत्व तहबाट फरक पार्टी, व्यक्ति या फरक विचार उपर तिक्ततापुर्ण अनि अशोभनीय टिप्पणी पनि पटकपटक सुनिएका छन् । यस्तो नकारात्मक सन्देश जाने प्रवृत्तिको अन्त्य गरेर दल रुपान्तरणको प्रतिस्पर्धामा अब हामी प्रवेश गर्न जरुरी छ । दलहरूको रुपान्तरणले सम्बन्धित दललाई मात्र होईन समग्र राजनीतिको रुपान्तरणलाई मार्गप्रशस्त गर्नेछ ।
समयको माग; आधुनिक कांग्रेसको सूत्रपात
दलहरूमा रुपान्तरण भनिरहँदा मुलुकको पहिलो ध्यान ज्येष्ठ दल तर्फ जान्छ नै । कांग्रेसले नै यो रुपान्तरण र परिवर्तनको नेतृत्व गर्न सक्नुछ । देशको सत्ता र समयको धार कांग्रेसले बदलेको हो। ठुला ३ राजनैतिक परिवर्तनको सफल नेतृत्व कांग्रेसले ग¥यो ।
– राणाशाहीबाट स्वतन्त्रता ।
– समावेशीताको नीति ।
– लोकतन्त्र स्थापना ।
– शान्ति स्थापना ।
– गणतन्त्र घोषणा र कार्यान्वयन ।
–संविधान निर्माण र कार्यान्वयन यी हरेक मोडमा कांग्रेसकै निर्णायक नेतृत्व रह्यो । आर्थिक समृद्धिको जग निर्माण अनि आज हासिल एकहदसम्मको भौतिक विकासमा कांग्रेसकै निति र नेतृत्वको योगदान छ ।
‘गौरवमय इतिहास’ बोक्दै ‘जिम्मेवार वर्तमान’ हुँदै ‘उज्यालो भविष्य’ तर्फ बढिरहंदा अब कांग्रेसले बदलिएको समाजको मनोबिज्ञान बमोजिम आफुलाई बदल्नुछ । आधुनिक कांग्रेसको सुत्रपात गर्ने दिशामा १४ औं महाधिवेशन पुरानो र नविन कांग्रेसको मध्यबिन्दु बन्नु छ र यही बिन्दुबाट हामीले नविन मनोबिज्ञानको विकास र नविन दृष्टि, कार्ययोजना र संकल्प लिनु छ ।
कांग्रेसको घरेलु ८ चुनौती
आफु भित्रको चुनौती पहिचान अनिवार्य रुपले गरेर हामीले त्यसको निदान पहिल्याउन जरुरी छ । कतिपय कमजोरी कतिपय जटिलता र कतिपय चुनौती यस्ता देखिन्छन्।
–संविधानको स्वामित्व तर विविध प्रश्नमा पार्टी भित्र फरक मतहरु ।
–फरक मत लोकतन्त्रको सौन्दर्य तर भविष्यमा उत्पन्न हुनसक्ने जटिलतामा परिपक्व हलका लागि सजगता आवश्यक ।
–दल र सरकार बिचको सम्बन्धमा विगतमा उत्पन्न जटिलताले दिएको दुश्परिणाम आगामी दिनमा दोहोरिन नदिन परिपक्व हलको खोजी अझै गर्न नसकिएको स्थिति ।
–यदाकदा पार्टीको निर्णय प्रक्रियामा सहमतीय या बहुमतियको अलमल र द्वन्दले निर्णय क्षमतामा असर पुगेको स्थिति ।
–सार्वजनिक सरोकारका बिषयहरुमा कतिपय बेला समयमै निर्णय हुन नसक्दा पार्टीको छविमा परेको असर ।
–संसदीय टिकट वितरणमा पुरातन शैलिको निरन्तरता ।
–कृयाशिल सदस्य नविकरण, वितरण र व्यवस्थापनको प्रश्नमा पछिल्ला महाधिवेशनहरुको पुर्व सन्ध्यामा बढेको जटिलता ।
–भातृ र शुभेच्छुक संस्थाहरुको सांगठनिक गतिशीलतालाई आन्तरिक अधिवेशनको चुस्त व्यवस्थापन हुन नसक्दा गम्भीर असर पर्दै आएको स्थिति ।
–समग्र कमजोरीहरुको पहिचान र व्याख्यामा जागरुकता तर निराकरणको दृष्टि निर्माण र कार्यान्वयनमा सुस्तता ।
कांग्रेस रुपान्तरण गर्दै, देश रुपान्तरणमा बढौं
उमेरले ७० बर्ष नाघेपनि नेपाली कांग्रेस निरन्तर नेपाली राजनीतिको केन्द्रमा छ । सहि विचार, संयमित व्यवहार र जनतालाई केन्द्रमा राखेर आवश्यक लचकता साथ अघि बढेका कारण यो संभव भएको हो। कम्युनिस्ट पार्टीको करिब दुइ तिहाइको सरकार दम्भ र द्वन्द्वका कारण असफल भएको आजको परिस्थितिमा नेपाली कांग्रेसनै अन्ततः भरोसाको शक्ति हुनसक्छ भनेर फेरिपनि नेपाली जनताको आँखा हामी माथी केन्द्रित भएको छ । यस्तो समयमा हुन लागेको १४ औं महाधिवेशन मार्फत हामीले जनतालाई विश्वस्त तुल्याउनै पर्दछ कि हामी नेपाली कांग्रेसलाई एक रुपान्तरित र आधुनिक दलका रूपमा विकसित गर्दै अघि बढ्छौं र देश रुपान्तरण र निर्माणको यात्रालाई गतिशील बनाउने छौं ।
त्यसका लागि १४ औं महाधिवेशनमा कांग्रेस रुपान्तरणको जबर्जस्त मनोबिज्ञानको विकास जरुरी छ भने त्यसपछिको निति अधिवेशनबाट रुपान्तरणको खाका तर्जुमा र कार्यान्वयन प्रारम्भ जारी छ । जनताको भरोसा जित्न र आफैभित्र आत्मविश्वास एवं विश्वासको नविन उर्जा अभिवृद्धि गरेर अघि बढ्न नेपाली कांग्रेसले – विगतमा आफ्नो नेतृत्वमा हासिल उपलब्धि जनसमक्ष व्यापक स्तरमा राखौं अनि विगतमा सत्ता संचालन क्रममा भएका कतिपय कमजोरीलाई आत्मसात गरौं ।
१४ औं महाधिवेशन पछिको निति अधिवेशनबाट देशका लागि साझा १५ बर्षे सपना र संकल्पको खाका निर्माण गरौं । राजनीति बाहिर रहेका कांग्रेसको शुभेच्छुक तर निस्चित बिषयको दक्ष व्यक्तित्वहरुलाई देश रुपान्तरणको महा अभियानमा उर्जायुक्त ढंगले सरिक गराउन आवश्यक निति र व्यवस्थापनको सोच तय गरौं । भ्रष्टाचार निवारण ऐन ०५९ कांग्रेसकै पालामा बनेको थियो। तर त्यो र त्यसपछिका अन्य बन्दोबस्त, बिद्यमान कानुन र विधि भ्रस्टाचार नियन्त्रणमा अपर्याप्त भएको निष्कर्ष आत्मसात गर्दै भ्रस्टाचार नियन्त्रणका लागि वृहत्तर संकल्प, योजना र कार्यक्रम निर्माण गरौं ।
कांग्रेसमा युवा आकर्षणको जोड र कोण
एकातर्फ पार्टीलाई तरुण स्पिरिटको बनाउनु छ, अर्कातर्फ आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउन पार्टीमा युवा सदस्यको संख्यामा व्यापक बढोत्तरि गर्नुछ । ‘डि एन्ड डि’ अर्थात ‘डिमोक्रेसी’ र डेभलपमेन्ट’, आजको युवाले हाकाहाकी खोज्ने स्वतन्त्र जीवन त्यहि लोकतन्त्रले सुनिस्चित गर्दछ र विकास त्यहि प्रक्रियाबाट क्रमशः संभव छ । नेपाली कांग्रेस यि दुवै बिषयको जिम्मेवार नेतृत्व हो भन्ने तथ्यलाई युवा माझ स्थापित गर्नुछ ।
आजको नेपाली युवा राजनैतिक विषय र बहस सँगै परिवर्तित समयको शिक्षा, रोजगारी, बिग्रँदो पर्यावरणको चिन्ता र सामाजिक रुपान्तरणको मुद्दामा बढि सक्रिय र संगठित हुन चाहेको यथार्थ छ । यो युवा मनोबिज्ञानलाई भरथेग गर्ने, साथ दिने र नेतृत्व गर्ने भरोसाको माध्यम कांग्रेस हो भन्ने तथ्य स्थापित गर्नुछ हामीले ।
कुनैपनि प्रकृतिको सामाजिक विसंगतिको घटनामा संलग्न प्रमाणित ब्यक्तिलाई पार्टीको जिम्मेवारी र सदस्यता समेतबाट निस्कासन गर्ने बिषयलाई हामीले कठोर ढंगले लिनुपर्दछ । सामाजिक रुपान्तरण र सभ्य समाज चाहने युवा र अन्य सबैको खुला मागका रूपमा यसलाई हामीले आत्मसात गर्नुपर्छ ।
युवा नेतृत्व विकासको प्रक्रिया र प्रविधि मैत्री अभियानलाई हामीले सँगै अघि बढाउनु छ ।
–‘किशोर केन्द्रीय सदस्य’ को अवधारणा प्रस्ताव गर्दैछु। ४० बर्ष मुनिका कृयाशिल सदस्यको संख्या करिब ४०% देखिएको छ कांग्रेसमा । त्यहि मात्रामा प्रदेश र महाधिवेशनमा प्रतिनिधि चयन हुंदैछन्। किशोर पुस्ताको नेतृत्व विकासलाई बल पु¥याउन प्रदेश र केन्द्र दुवैको अधिवेशनमा सहभागी हुने ३० या ४० बर्ष सम्मका प्रतिनिधिहरु उम्मेदवार बन्न पाउने र आपसमा प्रतिस्पर्धा गर्नेगरी केन्द्रिय समिति र प्रदेश समितिको १० प्रतिशतको संख्यालाई खुला प्रतिस्पर्धाबाट प्रदेश र केन्द्रकोकिशोर सदस्यका रूपमा ल्याउँदा त्यसले युवालाई प्रोत्साहित र प्रशिक्षित दुवै गर्नेछ ।
–पहिलोपटक नमुना प्रयोग पश्चात अधिकतम दुइ महाधिवेशन सम्मको अभ्यासले नेतृत्व विकासमा एक ढंगको योगदान पुग्नेछ ।
पार्टीलाई डिजिटलाईज गर्ने प्रक्रिया पछिल्लो समय पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागमार्फत हामीले व्यवस्थित रुपले अघि बढाएका छौं । पार्टीले आवश्यक ठहर गर्दा आन्तरिक चुनावका लागि ‘डिजिटल भोटिब’ को प्रविधि तयार स्थितिमा छ ।
पार्टीको निति अधिवेशन मार्फत अनलाइन सदस्यता खुला गर्ने निर्णय गरिसक्दा ‘अनलाइन सदस्यता आवेदन’ र वितरणका लागि हाम्रो प्रविधि तयार स्थितिमा छ । तब लाखौं युवालाई अनलाइनबाट ‘नेपाली कांग्रेसको सदस्यता’ उपलब्ध गराउन सकिनेछ ।
पार्टी केन्द्रले राष्ट्रीय महत्वको बिषयमा निर्णय गर्नुपर्दा पार्टीका महासमिति सदस्यहरुको राय लिनुपरे २४ घण्टा भित्रै संकलन गर्ने सकिने प्रविधि पार्टीको अत्याधुनिक वेबसाईटमा ब्यवस्था गरिएको छ । निति अधिवेशनबाट त्यसलाई विधिवत अंगिकार गर्न सकिनेछ ।
‘युवा मैत्री र प्रविधि मैत्री कांग्रेस’ बनाएर राजनीतिमा परिवर्तन देखि राजनीति बाहिरका युवा चासोका बिषयलाई नेतृत्वदायी ढंगले हामीले अघि बढाउनु छ । तब आगामी निर्वाचनमा विजय हासिल गर्न आवश्यक मतको बढोत्तरि मात्र होइन, रुपान्तरित राजनैतिक दलका रूपमा युवा विश्वासको केन्द्र कांग्रेसलाई बनाउन सकिनेछ ।
कृयाशिल द्वन्द्वको समयोचित हल
प्रविधिको चुस्त व्यवस्थापन हामीले गरिसकेका छौं । अब महाधिवेशनको मुखमा होइन हरेक बर्ष अनिवार्यसँग कृयाशिल सदस्यता नविकरण र वितरण गर्ने तथा महाधिवेशनको बर्ष कृयाशिल नविकरण र वितरणमा प्रवेश नै नगर्ने कडा बन्दोबस्त, निति अधिवेशन मार्फत गर्नुछ ।
अन्य पार्टीबाट नेपाली कांग्रेसमा संस्थागत या व्यक्तिगत रूपमा प्रवेश गर्नेहरुका हकमा प्रवेश गरेको ९० दिन भित्र आन्तरिक प्रशिक्षण र निश्चित तह या निस्चित सदस्यतामा समायोजन गर्ने कार्य सम्पन्न गर्नैपर्दछ । हाम्रो पछिल्लो अनुभवको जगमा यसमा नितिगत निर्णय र व्यवहारिक कार्यान्वयनको कडाइ जरुरी छ ।
आन्तरिक निर्वाचनलाई स्थायी आयोग – नेपाली कांग्रेस र यसका भातृ संस्थाहरुको नियमित निर्वाचन प्रक्रियालाई व्यवस्थित रुपले सम्पादन गर्न पार्टी भित्र तलबी रुपमा नै नियमित कार्य गर्ने गरि एक ‘आन्तरिक निर्वाचनलाई स्थायी आयोग’ निर्माण गर्न अत्यावश्यक छ । निति अधिवेशनमा यसबारे विस्तारित पेश गर्नेछु ।
परिणामका लागि जगेडा मुक्ति अभियान
‘जगेडा मुक्ति अभियान’ नेपाली कांग्रेस भित्र बिशेष जरुरी छ । पद र जिम्मेवारी अन्तरसम्बन्धित भए पनि फरक कुरा हो । अधिवेशनबाट निश्चित पदमा पुग्ने तर निश्चित काम गर्ने जिम्मेवारी नतोकिंदा ब्यक्तिको क्षमता उपयोग कम हुनजान्छ । निश्चित जिम्मेवारी सुम्पने र कामको अनुगमन र मुल्यांकनले मात्र हामी रुपान्तरित दल बन्न सक्दछौं । पार्टीको कुनैपनि तहको पदाधिकारी यासदस्यलाई जगेडामा रहन नदिनु नेतृत्वको बिशेष जिम्मेवारी हो ।
बहुपदमा रहेकालाई प्रतिस्पर्धात्मक ढंगले कार्य गर्ने गरि जिम्मेवारी बाँडफाँड गर्न सम्बन्धित तहको सभापतिले नेतृत्व चयनको मितिले बढिमा ३ महिना भित्र आवश्यक निर्णय गर्नु उचित हुन्छ ।
क्रियाशिल सदस्यलाई क्रियाशिल उद्यमी बन्ने प्रेरणा
कुनैपनि राजनैतिक दलको कुनैपनि तहको नेतृत्व र सदस्य ! खुट्टामा उभिएर राजनीति गर्ने’ बिषयलाई मन्त्रका रूपमा हामीले लिनैपर्दछ । पार्टीको क्रियाशिल सदस्यलाई क्रियाशिल उद्यमी बन्न प्ररित गर्नुछ । त्यसैले राजनीतिमा रुपान्तरणको अवधारणा पत्रमा उल्लेख गरिसकेको छु ‘३ दिन पार्टीका लागि ४ दिन रोटिका लागि’ । अर्थात जुनसुकै राजनैतिक पार्टीको नेतृत्व या सदस्य अथवा राजनीतिभन्दा बाहिर जीवनको अर्को क्षेत्रमा जो जहाँ हुन् आर्थिक रुपमा स्वावलम्बि बन्ने अनि पारिवारिक रूपमा आत्मीय बन्ने सोच र स्वभाव खुसि जीवनका लागि अनिवार्य छ । पारिवारिक जीवनमा जिम्मेवार ब्यक्तिले नै आफ्नो पार्टी, समाज र देशका लागि बढि जिम्मेवार भुमिका निभाउन सक्दछ ।
(नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीका दाबेदार शर्माले १ मंसिरमा चितवनमा सार्वजनिक गरेको अवधारणा–पत्र)
प्रतिक्रिया