नेपालमा विदेशी हस्तक्षेप बढ्यो: अध्यक्ष लिङ्देन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा विदेशी हस्तक्षेप बढ्दै गएको बताएका छन्।

आइतबार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको काठमाडौँ जिल्ला भेलामा उनले विदेशीहरुको हस्तक्षेप बढेको बताए। उनले विदेशीहरुको दबाब र प्रभावमा प्रधानमन्त्रीले समीकरण परिवर्तन गर्दै हिडेको बताए।

यस्तै, उनले वर्तमान सरकारको प्राथमिकता सत्ता मात्रै भएको पनि आरोप लगाएका छन्।

उनले भने, “वर्तमान अवस्थामा कति बेला के हुन्छ, कतिबेला सत्ता परिवर्तन हुन्छ, भन्ने कुरा कसैलाई थाहा छैन्। नेपालको सरकार कस्तो हुनुपर्छ ? कुन पार्टी मिलेर लड्नुपर्छ भन्ने कुरा समेत विदेशीले तय गर्न थाले, विदेशीहरुको दबाब प्रभावमा भई रहेको प्रधानमन्त्री समीकरण परिवर्तन गरेर हिड्छन भने देशको अवस्था के हुन्छ ? उनीहरुको प्राथमिकतामा सत्ता मात्रै छ । र सत्ता पनि मिलेर बाँकी रहेको देश लुट्नको लागि र कारबाहीबाट जोगिनका लागि मात्र काम भइरहेको छ। यस्तो प्रवृत्ति कहिलेसम्म देशले धान्न सक्छ। यो अवस्थाबाट देशलाई मुक्त गराउनु पर्छ।”

राजा आउने वित्तिकै विकास नभएपनि देशमा शान्ति र स्थायित्व कायम हुने भन्दै त्यसैको जगमा नेपालमा विकास र समृद्धिको अभियान चलाउन सजिलो हुने उनको भनाई छ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आगामी दिनमा बलियो पार्टी बनाउनको लागि महिला सहभागिता आवश्यक भएको भन्दै आफ्नो क्षमता विकासमा ध्यान दिन सबै महिला कार्यकर्तालाई आग्रह गरेका छन्।  (नेपाल न्यूज बैंक)

प्रतिक्रिया