काठमाडौँ। अभिनेता मुकुन भुषाल फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अनुबन्धित भएका छन्। अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मका लागि निर्माणपक्षले मुकुनसँग लिखित सम्झौता गरेको हो।
निर्माण पक्षले मुकुनको भूमिकाको बारेमा खुलाएको छैन। बाँकी अन्य कलाकारको अनुबन्धपछि मात्र भूमिका खुलाइने जानकारी दिएको छ।
मुकुनले एउटा कलाकारमा फरक चरित्रको भोक सधैँ रहने भएकाले त्यो फरक चरित्रमा आफू फिल्ममा देखिने बताए।
पहिलो फिल्म ‘बुलबुल’ बाट पहिचान बनाएका मुकुनले आफूहरुले कल्पना गरेको पात्रलाई उम्दा गरेर देखाउने विश्वासका साथ अनुबन्ध गरिएको निर्माता विनोद पौडेलले बताए।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण हुने फिल्ममा यसअघि गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भइसकेका छन्।
सोसल–ड्रामा बन्ने फिल्मका लेखक तथा निर्देशक सरोज पौडेल हुन्। जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी निर्माण पक्षको छ। वि.सं. २०८२ मा रिलिज गर्ने तयारीमा रहेको फिल्मको नाम र मोसन पोस्टर निर्माण पक्षले दुई हप्ताअघि सार्वजनिक गरेको थियो।
फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन्। महेश दवाडीको पटकथा तथा संवाद रहन फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहने छ।(नेपाल न्यूज बैंक)
प्रतिक्रिया