काठमाडौं । मधेस प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएसँगै केन्द्रीय सरकारको मन्त्रीपरिषदमा समेत त्यसको असर परेको छ ।
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई सरकार छाड्न सन्देश पठाएको एक उच्च सूत्रले बताएको छ । उपप्रधानमन्त्री यादव जनता समाजवादी पार्टीका अध्यक्ष हुन् ।उनकै दलका नेता सरोज यादव मधेश प्रदेशका मुख्यमन्त्री छन् ।
मधेशको सरकारबाट आफ्नो दलका तर्फबाट मन्त्री रहेका भरतकुमार साह र युवराज भट्टराईले आइतबार मुख्यमन्त्री यादवलाई राजीनामा बुझाएलगत्तै उपप्रधानमन्त्रीलाई पदबाट राजीनामा दिन प्रधानमन्त्रीले सन्देश पठाएको सूत्रले जानकारी दिएको छ ।
माओवादीले आफ्नो मन्त्रीहरूलाई फिर्ता बोलाएर आजै सरकारबाट समर्थन फिर्ता लिने भएको जानकारी प्राप्त भएको छ । एमालेका तर्फबाट मन्त्री रहेका नेताले पनि राजीनामा दिने तयारी गरिरहेको बुझिएको छ ।
प्रतिक्रिया