'मलाई सोध्दै नसोधी पदको टीका लगाइदिनु आपत्तिजनक छ'

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले आफूलाई सोध्दै नसोधी पार्टीको केन्द्रीय सल्लाहकार परिषदको सदस्य बनाएको भन्दै आपत्ति जनाएका छन् ।

शनिबार सामाजिक संजालमार्फत रावलले आफूलाई सोध्दै नसोधी पदको टीका लगाइदिएको भन्दै आपत्ति जनाएका हुन् । उनले भनेका छन्, ‘मलाई नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार  परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।’

 

एमालेले रावललाई केन्द्रीय सल्लाहकार परिषदमा सदस्यको जिम्मेवारी दिएको थियो । पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार भएका डा रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीबिहीन भएका थिए । अध्यक्षको उम्मेदवार भएपनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा डा रावलले रुचि नदेखाएपछि उनलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शङ्कर पोखरेलले बताएका थिए ।

गत मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको महाधिवेशनमा सर्वसम्मत नेतृत्व प्रस्तावअन्तर्गत उपाध्यक्ष पदमा निरन्तरता दिन बन्दसत्रमा अध्यक्ष ओलीले गरेको प्रस्तावमा  रावल तयार नभएपछि निर्वाचन भएको थियो ।
 

प्रतिक्रिया