वैदेशिक रोजगारका क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न र्यापीड रेस्पोन्स टिम गठन

काठमाडौं । सरकारले वैदेशिक रोजगारका क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली (र्यापीड रेस्पोन्स टिम) गठन गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशकको प्रत्यक्ष अनुगमनमा रहने गरी तथा सम्बन्धित अन्तरनिकायको प्रतिनिधित्व हुने गरी शीघ्र प्रत्युत्तर टोली गठन गरिएको हो ।

वैदेशिक रोजगार विभागका निर्देशकको संयोजकत्वमा गठन गरिएको र्यापीड रेस्पोन्स टिममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्ड सचिवालय, नेपाल प्रहरीका प्रतिनिधि सदस्य रहेका छन् भने वैदेशिक रोजगार विभागका अनुसन्धान अधिकृत सदस्य सचिव छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारसम्बन्धी आउने गुनासोलाई तत्काल निराकरण गर्न, राहत, उद्धार तथा क्षतिपूर्तिको सिफारिस गर्न तथा अन्तर निकाय समन्वयका लागि टोली गठन गरिएको बताए ।

टोलीले वैदेशिक रोजगार व्यवस्थापनमा कुनै सेवा प्रदायक निकाय, सङ्घसंस्था तथा व्यक्तिले बदनियतपूर्वक काम गरिरहेको वा गर्न लागेको कुनै सूचना प्राप्त भएमा छानविन गर्न, आवश्यक निर्देशन दिन तथा थप अनुसन्धानका लागि सिफारिस गर्नेछ ।

वैदेशिक रोजगारसम्बन्धी कामलाई व्यवस्थित तथा मर्यादित बनाउने तथा कानूनको प्रभावकारी कार्यान्वयन गराउन र यस क्षेत्रमा आउने गुनासोको तत्काल सम्बोधन गर्न टोलीले काम गर्नेछ ।

वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित, सुरक्षित बनाउने क्रममा यस क्षेत्रको व्यवस्थापनमा सुधार गरी सुशासनको अभिवृद्धि गर्न टोली गठन गरिएको मन्त्री श्रेष्ठको भनाइ छ । अहिले नेपाली युवाको रोजगारीको प्रमुख स्रोतका रुपमा वैदेशिक रोजगारीले स्थान लिएको छ ।

तर यसक्रममा ठगिने, दुःख, हण्डर व्यहोर्नुपर्ने र सुशासनका दृष्टिलेसमेत नकारात्मक चित्रण हुने गरेकाले यसको छवि सुधार्ने प्रयासका रुपमा शीघ्र प्रत्युत्तर टोली गठन गरिएको हो ।

प्रतिक्रिया