सेयर बजार घट्यो, ४ अर्ब ५७ करोडको कारोबार

काठमाडौँ। सेयर बजार दोहोरो अंकले घटेको छ। बुधबार नेप्से परिसूचक २३.८१ अंकले घट्दै २०८९.४२ को विन्दुमा रह्यो।

परिसूचक घटे पनि सेयर कारोबार निराशाजनक भने छैन। १ करोड ७ लाख ३८ हजार १६९ कित्ता सेयर ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँमा किनबेच भएको छ। वाणिज्य बैंक उपसमूहमा २.९४ प्रतिशतले गिरावट आउँदा परिसूचक घटेको हो।

२.६८ प्रतिशतले बढेको उत्पादन तथा प्रशोधन उपसमूहले बजार थामेको छ। यो सँगै होटल तथा पर्यटन, व्यापार र फाइनान्स उपसमूह बढेका छन्। म्युचुअल फण्ड स्थिर रह्यो भने १३ मध्ये ८ उपसमूहका सेयरमा गिरावट छ।

५६ कम्पनीको सेयरमूल्य बढ्दा चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। युनिलिभर नेपाल, कालिञ्चोक दर्शन, अपर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयरमा सर्किट लागेको हो।

सर्वाधिक कारोबार हुनेमा पोखरा फाइनान्स परेको छ। उक्त क्मपनीको १९ करोड ५२ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै सीइडीबी हाइड्रोपावरको १९ करोड २७ लाख, सर्वोत्तम सिमेन्टको १४ करोड १० लाख, एनआरएन इन्फ्रस्ट्रक्चरको १० करोड २८ लाख र हाथवे इन्भेस्टमेन्टको १० करोड ३ लाखको सेयर कारोबार भएको छ।

१९१ कम्पनीको सेयरमूल्य घट्दा बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ता सर्वाधिक ९.४१ प्रतिशतको नोक्सानीमा रहे। ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१, बाराही हाइड्रोपावर, एनएमबि बैंक घट्नेको सूचीमा छन्।  (नेपाल न्यूज बैंक)

प्रतिक्रिया