काठमाडौँमा अपराह्न हल्का वर्षा हुने पूर्वानुमान

काठमाडौँ। हाल मुलुकमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार कोशी, मधेस र वाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम  मुख्यतया सफा छ। कोशी प्रदेश एक–दुईस्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने विभागको पूर्वानुमान छ। कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, वाग्मती  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही देशका बाँकी भागमा मौसम सफा रहने छ। कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले आज बिहान ६ः०० बजे जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ।

आगामी २४ घण्टामा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले ती भेगका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। 

काठमाडौँ उपत्यकामा आज अपराह्न मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने विभागले बताएको छ। यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने छ। (रासस)

प्रतिक्रिया