सेयर बजारमा ३.९७ अंकको गिरावट, लघुवित्तबाहेक सबै घटे

काठमाडौँ। साताको पहिलो दिन बढेको सेयर बजारले दोस्रो दिन लगानीकर्तालाई निराश पारेको छ। सोमबार बजार ३.९७ अंकले घट्दै २०७९.०७ विन्दुमा रहँदा कारोबार रकम पनि घटेको छ।

८८ लाख २० हजार १२५ कित्ता सेयर ४ अर्ब ४० लाख रुपैयाँमा किनबेच भएको छ। यसअघि आइतबार नेप्से परिसूचक १३.५१ अंकको बढोत्तरीसँगै २०८३.०४ विन्दुमा रहँदा ९६ लाख ९७ हजार २०६ कित्ता सेयर ४ अर्ब ३१ करोड १० लाख रुपैयाँमा किनबेच भएको थियो।

सोमबार एक्लै २.४३ प्रतिशतको बढोत्तरीले बजार थामेको लघुवित्त उपसमूहबाहेक सबै घटेका छन्। १२९ कम्पनीको सेयरमूल्य घट्दा सर्वाधिक नोक्सानमा एनआइबीएल स्टेबल फण्डका लगानीकर्ता छन्। उक्त सामूहिक लगानी कोषको सेयरमूल्य घटेर नकारात्मक सर्किट नै लागेको छ। यस्तै सेयरमूल्य घट्ने कम्पनीहरुका मनकामना इन्जिनियरिङ हाइड्रोपावर, कालिञ्चोक दर्शन, राप्ती हाइड्रो, सुपर मादी हाइड्रोपावर लगायत छन्।

घटेको बजारमा पनि ११० कम्पनीको सेयरमूल्य भने बढेको छ। बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमूल्य भने सर्किटस्तरमा बढेको छ। उक्त कम्पनीको सेयरमूल्य ९.६६ प्रतिशतले बढेको हो। ८ कम्पनीको सेयरमूल्य स्थिर रह्यो।

सर्वाधिक कारोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रक्चर छ। उक्त कम्पनीको १४ कारेड ८५ लाखको सेयर कारोबार भएको छ। यस्तै पोखरा फाइनान्सको १३ करोड ८६ लाख, ग्रनीन भेञ्चर लिमिटेडको १२ करोड ४० लाख, नेपाल फाइनान्सको १० करोड ७ लाख, हिमालयन लघुवित्तको १० करोड ७ लाख रुपैयाँको सेयर किनबेच भएको छ। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया