काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आइटी डिकेट घोषणा गरेर आर्थिक वर्षलाई प्रस्थान विन्दुका रुपमा अगाडि बढाउने सरकारको प्रतिबद्धता रहेको बताएकी छन्।
शुक्रबार काठमाडौँमा आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ लाई सम्बोधन गर्दै उनले आइसिटिलाई महत्वका र सबैको एकरुपका साथ अगाडि बढाएको भन्दै निरन्तरको छलफल, प्रचारात्मक कामहरु र सबैको सहयोगले आइटी डिकेट घोषणा गर्न सफल भएको बताइन्।
उनले भनिन्, “हामीले यो आइसिटिलाई जुन एउटा महत्वका साथ सरकारी निकायहरुका सबैका एकरुप बुझाइका साथ जसरी हामीले आइटी डिकेट घोषणा गर्न सक्यौँ र यो आर्थिक वर्षलाई प्रस्थान विन्दुका रुपमा अगाडि बढाउँछौँ भनेर जुन सरकारले प्रतिबद्धता गरेको छ यो कुरा हाम्रो निरन्तरको छलफल र प्रचारात्मक कामहरु, आइसिटिका साथीहरु, सञ्चार मन्त्रालयलगायत प्रधानमन्त्रीको भिजन अर्थमन्त्रीको काम र हामी सबैको आइटी डिकेट घोषणा गर्नका ठूलो सहयोग छ। र आइटीलाई पहिलो पटक नेपालमा गेम चेन्जर प्रोजेक्टको रुपमा तेस्रो नम्बरमा समावेश गर्न सफल भयौं। यो अत्यन्तै उत्साहजनक वातावरण हो।”
यस्तै, उनले सरकारले डिजिटल नेपालको विषयलाई निकै महत्वका साथ अहिलेको बजेटमा उल्लेख गरेको भन्दै सबै नीजि क्षेत्र र वैदेशिक लगानी आकर्षित गर्ने गरे अगाडि बढ्ने बताइन्।
उनले भनिन्, “यो डिजिटल नेपालको कुरा छ, वल्र्ड बैंक अझै पनि यसका लागि तयार छ। हामीले नेपाल सरकारकै तर्फबाट पनि यो कार्यक्रमलाई निकै महत्वका साथ अहिलेको बजेटमा उल्लेख गरेका छौँ। त्यसकारण यी कार्यक्रमहरुलाई महत्वका साथ सरकारले अगाडी बढाएको छ र यसलाई परिमार्जन गर्ने भनेको छ। यो परिमार्जनको प्रक्रियामा अगाडि छौँ। यो आर्थिक वर्षदेखि डिजिटल नेपाल बनाउने कुरामा दृढताका साथ काम अगाडि बढ्छ भन्ने कुराको विश्वास दिलाउन चाहन्छु। सबै सरकारी निकाय मात्र होइन्, नीजि क्षेत्र र वैदेशिक लगानी पनि यसमा आकर्षित गर्ने गरे हामी अगाडि बढ्न खोज्दै छौँ।”
बजेट कार्यक्रम पारित नभएपनि नीति कार्यक्रम र बजेट वक्तव्यसम्म आइपुग्दा पनि आइटी क्षेत्रमा एउटा उत्साहपूर्ण वातावरण बनेको पनि उनको भनाइ छ। (नेपाल न्यूज बैंक)
प्रतिक्रिया