रौतहट। उखुसँगै विभिन्न जातका तरकारी खेती गरेर रौतहटका एक कृषकले मनग्य आम्दानी गरेका छन्। गढीमाई नगरपालिका–२ का अगुवा कृषक कामेश्वर सहनीले पहिलो पटक उखु बालीसँगै तरकारी खेती पनि गरेका हुन्।
उखु र तरकारी खेतीसँगै गर्दा असर पर्ने र उब्जाउ नहुने चिन्ता भएपनि परीक्षणका रुपमा गरिएको उनको भनाइ छ। यद्यपी, उखु र तरकारीसँगै खेती गर्दा समस्या नहुने र उब्जाउ पनि हुने अनुभव उनको छ। उखुबालीमा पनि मौसम र झार सुहाउँदो अन्य तरकारी खेती गरेर उत्पादन लिन सकिने उनी बताउँछन्।
उनले उखु खेतीबाली भित्र पनि मिश्रित खेती गरेर बहुबालीको उत्पादन लिन सकिने र आम्दानीको स्रोत समेत बढ्ने बताए। उखुबालीमा प्याज, खुर्सानी, घिरौँला, लौका आदि लगाउन सकिने भएकाले निर्धक्क भएर खेती गर्न अगुवा कृषक सहनीले सुझाव दिए। कृषक सहनीले करिव चार बिगाहा जमिनमा उखु बालीसँगै तरकारी पनि लगाएको जानकारी दिए। आफुले आठ बिगाहमा उखु खेती गरेको भएपनि चार विगाहमा मात्र तरकारी र उखु सँगै लगाएको बताए।
उखु खेतीसँगै गरेको खुर्सानीको उत्पादन राम्रो हुँदा करिब ७० हजार रुपैंयाँको बिक्री गरिसकेको सहनीले जानकारी दिए। हरियो खुर्सानी बजारमा उच्च माग भएकाले खेतबाटै थोकमा नै व्यापारीहरूले लगेको उनले बताए। उनले उखुसँगै सहनीले खुर्सानी हुर्काएका हुन्। संगै प्याज, घिरौँला र लौका पनि उत्पादन गरेका छन्।
अहिले सिजनमा मूल्यमा करिब ६० हजार रुपैयाँ बराबरको प्याज, एक लाख भन्दा बढी रुपैंयाँको घिरौँला र तीन लाख भन्दा बढीको लौंका बिक्री भएको उनको कथन छ। उखुको दुई लाइनको बीचमा रहेको खाली जमिनमा हुर्केको तरकारीबाट आफुले मनग्य आम्दानी लिएको जिकिर उनले गरे। यस क्षेत्रमा उखु खेती गर्ने अन्य कृषकलाई समेत उखुसँगै तरकारी उत्पादन गरेर लाभ लिन उनले आग्रह गरे।
उखुलाई एक वर्षमा उत्पादन हुने नगदे बाली मानिन्छ। तर यसरी तरकारी खेती गरेर कृषकले दोहोरो आम्दानी लिनसक्ने कृषि ज्ञान केन्द्र गौरले जनाएको छ। उखुबालीमा कुनै पनि तरकारी खेती गर्दा अतिरिक्त सिँचाइ गर्नु नपर्ने तथा उखुकै लागि गरिएको सिँचाइ र गोडमेलले तरकारी बालीलाई पनि फाइदा पुग्छ। उखुबालीलाई दिएको मलजलले पुग्ने हुँदा सँगै गरिने मिशि्रत तरकारी बालीले अतिरिक्त आम्दानी दिन्छ। जमिनमा तरकारी बालीको लहरा वा झारले छोप्दा जमिनको चिस्यान मर्दैन र दिइएको मलजलले राम्ररी काम गर्न पाउँछन्। जसका कारण उखु खेतीसँगै तरकारी पनि फाइदा पुग्ने कृषि ज्ञान केन्द्र गौरले जनाएको छ। (नेपाल न्यूज बैंक)
प्रतिक्रिया