शेयर बजार परिसूचक घट्दा पनि कारोबार ६ अर्ब नाघ्यो

काठमाडौँ। साताको अन्तिम कारोबार दिन परिसूचक ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा रहँदा कारोबार रकम भने बढेको छ। बिहीबार १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता शेयर ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँमा किनबेच भएको छ।

जबकी बजारमा बढोत्तरीको क्रमले निरन्तरता पाउँदा बुधबार सेयर सूचकमा ६.३७ अंकले बढ्दै २१२१.६२ विन्दुमा थियो। १ करोड २९ लाख ५० हजार ४०७ कित्ता सेयर ५ अर्ब ८९ करोड ४० लाख रुपैयाँमा किनबेच भएको थियो। यसअघि मंगलबार १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता शेयर ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार विकास बैंक र फाइनान्सबाहेक सबै उपसमूह घट्दा सूचक प्रभावित भएको हो। फाइनान्स २.०३ र विकास बैंक उपसमूह १.३१ प्रतिशतले बढेका छन्। ९४ कम्पनीको शेयरमूल्य बढ्दा समृद्धि फाइनान्ससँगै र कुथेली बुखारी साना जलविद्युतको शेयरमूल्य बढेर पोजिटभ सर्किट लागेको छ। राष्ट्र बैंकबाट मर्जरमा जान स्वीकृति पाएको साधना लघुवित्तको शेयर पनि सर्किटस्तरमा बढेको छ। सप्तकोशी विकास बैंक, बाराही हाइड्रोपावर पनि शेयरमूल्य उल्लेख्य बढेका कम्पनीको सूचीमा छन्।

सर्वाधिक कारोबार हुनेमा नेपाल फाइनान्सको २८ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भएको छ। यस्तै साताको पाँचौ दिन भने एनआरएन इन्फ्रास्ट्रक्चर बढी कारोबार हुने कम्पनीको सूचीमा दोस्रो नम्बरमा परेको छ। उक्त कम्पनीको २० करोड ५७ लाखको शेयर कारोबार भएको छ। समृद्धि फाइनान्सको १७ करोड ५६ लाख, साधना लघुवित्तको १२ करोड ९९ लाख र सीइडीबी हाइड्रोपावरको १२ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ।

१४७ कम्पनीको शेयरमूल्य घट्दा मध्य सोलु हाइड्रोपावरका लगानीकर्ता सर्वाधिक नोक्सानमा रहे। उक्त जलविद्युत कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ। भगवती हाइड्रोपावर, एनआरएन इन्फ्रस्ट्रक्चर, कुमारी धनवृद्धि योजना, महुली लघुवित्तलगायतको शेयरमूल्य घटेको छ।  (नेपाल न्यूज बैंक)

प्रतिक्रिया