राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणको जानकारी नगराएकामा प्रमुख प्रतिपक्ष रुष्ट

काठमाडौँ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्र प्रमुखको विदेश भ्रमणबारे सदनमा जानकारी गराउने न्यूनतम मर्यादा समेत सरकारले पूरा नगरेको प्रति असन्तोष जनाउँदै सरकारसँग यसको कारण स्पष्ट पार्न माग गरेको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण र राष्ट्रपति रामचन्द्र पौडेलको जेनेभा भ्रमणबारे सरकारले सदनलाई जानकारी नगराएकोमा सरकारसँग कांग्रेसले जवाफ माग गरेको हो। 

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहाललाई भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन गएकोमा धन्यवाद व्यक्त गरेको छ। तर, दाहालले भारत भ्रमणबारे सदनमा जानकारी नगराएको प्रति भने उनले त्यसलाई सदनको दुर्भाग्य भनेर आलोचना गरे। 

दाहालले भ्रमणबाट फर्किएको पाँच दिनसम्म पनि सदनलाई जानकारी नगराएको प्रति जवाफ माग गर्दै नेता लेखकले भने, “प्रधानमन्त्रीजी यो सदनमा उपस्थित भएर आफ्नो भारत भ्रमणबारे जानकारी गराउनुहोला र सदनले पनि थाहा पाउला भनेर हामी पाँच दिनसम्म कुरेर बसेका थियौं। तर, उहाँ पाँच दिन भैसक्दा पनि आउन सक्नु भएन, मैले उहाँलाई स्मरण गराउनुपर्ने भयो।” लेखकले भने, “प्रधानमन्त्री यो सदनको नेता हो। देशको कार्यकारी प्रमुख विदेश भ्रमणमा जाँदै गर्दा यो सदन अनभिज्ञ रहनुपर्ने, जानकारी नपाइनाले र पत्रिका पढेर थाहा पाउनुपर्ने यो जुन स्थिति छ, यो सरकारको दुर्भाग्य हो कि मेरो सौभाग्य ?”

देशका कार्यकारी प्रधानमन्त्री र राष्ट्रपति जस्तो व्यकि्त विदेश भ्रमणमा जाँदा सदनलाई जानकारी नगराउनु दुर्भाग्य भएको सांसद लेखको भनाई छ। 

नेता लेखकले भने, “सरकारका कारणले संसदको न्यूनतम गरिमा र मर्यादा पनि कायम गर्ने काम भएन, यसका प्रति कांग्रेस खेद व्यक्त गर्दछ।” (नेपाल न्यूज बैंक)

प्रतिक्रिया