अफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो

काठमाडौँ। वेस्ट इन्डिजको सेन्ट भिसेन्ट स्टेडियममा रसिद खानको कप्तानीमा अफगानिस्तानको टोलीले इतिहास रच्यो। बंगलादेशलाई हराउँदै अफगानिस्तान विश्वकप इतिहासमा पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ।

अफगानिस्तानले टस जितेर बंगलादेशलाई ११६ रनको लक्ष्य दिएको थियो। वर्षाका कारण एक ओभर काटिएको थियो। त्यसपछि बंगलादेशले १९ ओभरमा ११४ रनको लक्ष्य पाएको थियो।

अफगानिस्तानको जितसँगै अष्ट्रेलियाको सेमिफाइनल पुग्ने आशा समाप्त भएको छ। सुपर–८ को ३ खेलमा अष्ट्रेलियाले एउटा मात्र जित र २ अंक जोडेको छ। अफगानिस्तान २ खेल जितेर ४ अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छ।

अब जुन २७ मा अफगानिस्तानले सेमिफाइनलमा दक्षिण अफ्रिकासँग त्रिनिडाडमा बिहान ६ बजे खेल्नेछ। सोही दिन बेलुका ८ बजे टिम इन्डियाले गुयानामा इंग्ल्याण्डसँग सेमिफाइनल खेल्नेछ।

आज बंगलादेशविरुद्धको खेलमा राशिद खानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन्। अफगानिस्तानले १ सय १५ रनको लक्ष्य दिएको थियो। रहमानउल्लाह गुरबाजले सर्वाधिक ४३ रन बनाए।

बंगलादेशको टोलीको विकेट लगातार ध्वस्त हुँदै गयो। लिटन दास एक्लै लडिरहेका थिए। लिटनले ५४ रन बनाए पनि अर्को छेउमा कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन्। बंगलादेश १०५ रनमा अलआउट भयो।

अफगानिस्तानका नवीन उल हकले १८ औं ओभरमा लगातार २ विकेट लिएर अफगानिस्तानलाई जित दिलाए। कप्तान राशिदले पनि ४ विकेट लिएका थिए।

प्रतिक्रिया