पाठेघर र स्तन क्यान्सर पत्ता लगाउन गाउँमै ‘स्क्रिनिङ’ शिविर

पर्वत। जिल्लाको जलजला गाउँपालिका-७ धाइरिङकी ८१ वर्षीया वृद्धालाई आफूमा आङ खस्ने (पाठेघर खस्ने) समस्या रहेको शनिबार मात्रै थाहा भयो। केही वर्ष अगाडिदेखि नै उनमा उक्त समस्या रहेको कुरा चिकित्सकले पत्ता लगाएका हुन्।

यसअघि आफूमा भएको समस्या पत्ता लगाउन सदरमुकामस्थित अस्पतालमा जाने सम्भावना पनि नभएकाले थाहा नभएको वृद्ध बताउँछिन्। महिलामा पाठेघरको मुख र स्तनमा हुने क्यान्सरलाई न्यूनीकरण गर्ने प्रयास भइरहेका छन्। सहरी क्षेत्रमा बसोबास गर्नेको स्वास्थ्य सेवामा सहज पहुँच पाउने भए पनि ग्रामीण क्षेत्रका महिलाहरु यस बारेमा त्यति सचेत छैनन्। बिरामी नै परेपछि मात्रै स्वास्थ्य संस्थामा जाने प्रचलनले पनि महिलामा पाठेघर र स्तन क्यान्सर गहिरिइरहेको पर्वत अस्पतालकी स्त्री रोग विशेषज्ञ डा.सन्तोषी थपलिया बताउँछिन्।

यही अवस्था नआओस् भनेर स्वास्थ्य कार्यालय पर्वत र जलजला गाउँपालिकाको समन्वयमा धाइरिङमा ‘निःशुल्क स्क्रिनिङ शिविर’ राखेर स्थानीय महिलाको पाठेघर र स्तन परीक्षण गरिएको थियो। स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत अञ्जली पिसीका अनुसार शिविरमा जिल्ला अस्पतालकी स्त्री रोग विशेषज्ञ डा.थपलिया, डा.मिलान अवाले, सिनियर अनमी सरस्वती बराल, कुश्मा नगरपालिकाकी सिनियर अनमि दुर्गा सापकोटा, जलजला गाउँपालिकाको स्वास्थ्य शाखाकी सिनियर अनमी अञ्जली वैरागीसहित पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने विशेष तालिम भिआइए (भिजुअल इन्सपेक्सन विथ एसिटिक एसिड) प्राप्त गरेका स्वास्थ्यकर्मी शान्ति शर्मा, राधा शर्मा र दिलु रिजाललगायतले परीक्षण गरेका थिए।

परीक्षणका लागि एक सय दुई जना महिला आएकामा ८५ को ‘भिआइए’ विधिमार्फत पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको परीक्षण गरिएको उनले जानकारी दिईन्। यीमध्येका चार जनामा ‘भिआइए पोजेटिभ’ नतिजा आएको भन्दै क्यान्सरको सम्भावना हुनसक्ने भएकाले थप परीक्षणका लागि समन्वय गरिएको उनको भनाइ छ। छ जनामा आङ खस्ने समस्या देखिएको छ। ‘स्क्रिनिङ’ गरिएकामध्ये कसैमा पनि स्तन क्यान्सरको शङ्कास्पद अवस्था नदेखिएको शिविर व्यवस्थापक स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स सुमन शर्माले बताईन्।

‘भिआइए’ विधिमा पाठेघरको मुखको मांसपेशीको कुनै नमुना निकालेर एसिटिक एसिडमा एक मिनेटसम्म राखेपछि क्यान्सरको शङ्का गर्न सकिने वा नसकिने भन्ने अवस्था टुङ्गो लाग्ने भएकाले ‘स्क्रिनिङ’ शिविरमा यसैका माध्यमबाट परीक्षण गरिएको उनले जानकारी दिइन्। क्यान्सरको शङ्का लागेको अवस्थामा भने थप अनुसन्धान र निदानका लागि पर्वत अस्पतालले आफूभन्दा माथिल्लो स्तरको स्वास्थ्य संस्थामा पठाउने तयारी गरेको शर्मको भनाइ छ। शिविरमा परीक्षण गर्दा चार जनामा ‘भिआइए पोजेटिभ’ देखिएपछि थप परीक्षण गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।

आङ खस्ने समस्या देखिएका अन्य छ जना महिलालाई पनि उपचारका लागि सोही अस्पतालमा पठाइएको उनले जानकारी दिईन्। जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले ग्रामीण क्षेत्रमा रहेका धेरै महिला थाहै नपाई पाठेघरको मुख र स्तन क्यान्सरबाट पीडित भएको हुनसक्ने जोखिम रहेको बताए। ग्रामीण क्षेत्रमा यस्ता परीक्षण गर्न सक्ने दक्ष जनशक्ति र उपकरण नहुने भएकाले राज्यले ग्रामीण क्षेत्रका नागरिकलाई पहिलो प्राथमिकतामा राखेर योजना तर्जुमा तथा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए। रासस

प्रतिक्रिया